• Tuesday, March 3, 2026

सांकेतिक भाषामा हिमालको बाटो देखाउने कौशल सिक्दै युवा


नेपालमा पहिलो पटक श्रवण क्षमता कम भएका २५ युवालाई व्यावसायिक ट्रेकिङ गाइड बनाउन ७ साताको विशेष तालिम सुरु भएको छ। नेपाल पर्यटन बोर्ड, यूएनडीपी, राष्ट्रिय बहिरा महासंघ र नाथमको संयुक्त आयोजनामा काठमाडौंमा सुरु यो तालिम पूर्ण रूपमा सांकेतिक भाषामा सञ्चालन भइरहेको छ।

देशभरिबाट छनोट १८ पुरुष र ७ महिलाले पर्वतीय सुरक्षा, प्राथमिक उपचार, पदमार्ग व्यवस्थापन, अतिथि स्वागत, वातावरण संरक्षण, संकट व्यवस्थापन र नेपालको भौगोलिक–सांस्कृतिक विविधताबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान लिइरहेका छन्।

यूएनडीपीका परियोजना प्रबन्धक धर्मराज दवाडीले यो पहललाई “नेपालको समावेशी पर्यटनको टर्निङ प्वाइन्ट” भनेका छन्। विश्वभर ४३ करोड सुस्त श्रवण भएका र ७ करोड सांकेतिक भाषा प्रयोगकर्तालाई अवसर दिने यो कार्यक्रमले फरक क्षमता भएका युवालाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ।

राष्ट्रिय बहिरा महासंघका अध्यक्ष सन्तोष केसीले भने, “बहिरा युवाले पनि हिमालको कथा सांकेतिक भाषामा विश्वलाई सुनाउन सक्छन्।” नाथमका कार्यकारी निर्देशक दिव्यराज पोखरेलले यो तालिमले पर्यटन शिक्षामा समावेशी दृष्टिकोण स्थापित गरेको बताए।

आगामी दिनमा दृष्टिविहीन तथा शारीरिक अपांगता भएका व्यक्तिका लागि पनि यस्तै सिपमूलक तालिम विस्तार गर्ने योजना छ। १८ कात्तिकमा उद्घाटन भएको यो कार्यक्रमले नेपालको पर्यटन क्षेत्रलाई सबैका लागि खुला र समान बनाउने विश्वास गरिएको छ।

Please Login to comment in the post!

you may also like