• Tuesday, March 3, 2026

पार्टीभित्र चर्को विरोधपछि अबुल हुसेन अन्सारीको टिकट रद्द


नेपाली कांग्रेस परित्याग गरी हालै नेकपा (एमाले) प्रवेश गरेका अबुल हुसेन अन्सारीले पाएको सुनसरी–४ को प्रतिनिधिसभा सदस्य पदको टिकट अन्ततः खोसिएको छ । पार्टीभित्रबाट चर्को आलोचना र असन्तुष्टि बढेपछि एमाले नेतृत्वले अन्सारीलाई दिइएको टिकट रद्द गरेको हो । टिकट वितरणको निर्णयप्रति जिल्ला तहदेखि केन्द्रसम्म विरोध भएपछि अन्ततः नेतृत्व निर्णय सच्याउन बाध्य भएको एमालेका एक जिल्ला नेताले बताएका छन् ।ती नेताका अनुसार अन्सारीलाई टिकट दिइएको विषयमा एमालेका कार्यकर्ता, विशेषगरी युवा पंक्तिमा व्यापक आक्रोश देखिएको थियो । ‘हिजोसम्म कांग्रेसको हर्ताकर्ता भएर हिँडेको व्यक्तिलाई कसरी रातारात एमालेको उम्मेदवार बनाउने ? पार्टीप्रति उसको योगदान के हो ?’ भन्दै कार्यकर्ताहरूले निरन्तर प्रश्न उठाएका थिए । पार्टीको सिद्धान्त, संघर्ष र संगठन निर्माणमा योगदान नदिएको व्यक्तिलाई सिधै प्रतिनिधिसभाको टिकट दिनु अन्यायपूर्ण भएको उनीहरूको धारणा थियो ।

जिल्ला तहका नेता तथा कार्यकर्ताहरूले उक्त निर्णयविरुद्ध केन्द्रसम्म आवाज पुर्‍याएका थिए । टिकट फिर्ता लिन दबाब दिँदै उनीहरूले नेतृत्वलाई निर्णय सच्याउन आग्रह गरेका थिए । ‘हामी एमालेका युवाजन एकजुट भएर यस निर्णयको विरोध गर्‍यौँ । जसरी पनि टिकट रद्द गर्नुपर्छ भनेर केन्द्रलाई भन्यौँ,’ ती जिल्ला नेताले भने, ‘अहिले टिकट खोसिएको खबर आएको छ, त्यसपछि हामी सबै सन्तुष्ट छौँ ।’शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुनसरी–४ का लागि पार्टी इन्चार्ज जगदीश कुसियैतलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई पार्टीभित्र सकारात्मक रूपमा हेरिएको थियो । तर, सो निर्णय भएको एक दिन नबित्दै अध्यक्ष केपी शर्मा ओलीले अबुल हुसेन अन्सारीलाई बोलाएर टिकट दिएको खबर सार्वजनिक भएपछि पार्टीभित्र तरंग मच्चिएको थियो । यसले सचिवालय बैठकको निर्णयमाथि नै प्रश्न उठाएको भन्दै धेरै नेता कार्यकर्ताले असन्तुष्टि जनाएका थिए ।पार्टीभित्र विधि र प्रक्रियालाई बेवास्ता गर्दै एकल निर्णयबाट टिकट दिइएको आरोपसमेत लागेको थियो । यसले एमालेभित्र गुटगत राजनीति हाबी हुँदै गएको सन्देश जाने भन्दै नेताहरू चिन्तित देखिएका थिए । विशेषगरी निर्वाचन जस्तो संवेदनशील समयमा पार्टीभित्र असन्तुलन पैदा हुने खतरा औँल्याउँदै जिल्ला कमिटीदेखि प्रदेश तहसम्म विरोधका आवाज उठेका थिए ।

अबुल हुसेन अन्सारी कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेलगत्तै टिकट पाउनु स्वयंमा विवादास्पद बनेको थियो । लामो समय कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका अन्सारीलाई एमालेको झन्डा ओढाइएलगत्तै प्रतिनिधिसभा सदस्यको टिकट दिइनु पार्टीका पुराना कार्यकर्तामाथि अन्याय भएको उनीहरूको ठहर थियो । एमालेभित्र संघर्ष गर्दै आएका नेताहरू वर्षौँदेखि टिकटको प्रतीक्षामा रहे पनि बाहिरबाट आएका व्यक्तिलाई प्राथमिकता दिइनु अनुचित भएको उनीहरूको भनाइ थियो ।टिकट खोसिएसँगै एमालेभित्र केही हदसम्म असन्तुष्टि मत्थरिएको देखिएको छ । पार्टी नेतृत्वले कार्यकर्ताको भावना र दबाबलाई स्वीकार गर्दै निर्णय सच्याएको सन्देश गएको एमाले नेताहरूले बताएका छन् । यद्यपि, यस घटनाले टिकट वितरणमा पारदर्शिता, प्रक्रिया र आन्तरिक लोकतन्त्रको विषयमा एमालेभित्र पुनः बहस सुरु गराएको छ । आगामी दिनमा यस्ता निर्णयहरू गर्दा पार्टी नेतृत्व थप सचेत हुनुपर्ने आवाजसमेत बलियो बन्दै गएको छ ।

Please Login to comment in the post!

you may also like