• Tuesday, March 3, 2026

सात निर्वाचन, पाँचपटक प्रधानमन्त्री: शेरबहादुर देउवाको सक्रिय राजनीतिबाट बिदाइ


डडेल्धुराबाट सातपटक लगातार प्रतिनिधिसभा निर्वाचन जित्दै आएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पाँचपटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाले अन्ततः सक्रिय निर्वाचन राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् । विशेष महाधिवेशनमार्फत गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि देउवाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएका हुन् । देउवाका स्वकीय सचिव भानु देउवाले सामाजिक सञ्जालमार्फत देउवा आगामी निर्वाचनमा उम्मेदवार नहुने औपचारिक जानकारी सार्वजनिक गरेका छन् ।२०४८ सालदेखि २०७९ सालसम्म डडेल्धुराबाट प्रत्यक्ष निर्वाचन लडेर लगातार सातवटै चुनाव जित्ने देउवा नेपाली राजनीतिमा यस्तो उपलब्धि हासिल गर्ने एक मात्र नेता हुन् । तीन दशकभन्दा लामो संसदीय यात्रामा उनले कांग्रेसको नेतृत्व मात्र गरेनन्, मुलुकको कार्यकारी नेतृत्वसमेत पाँचपटक सम्हाले । तर, पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीभित्रको नेतृत्व परिवर्तनसँगै देउवाको अन्तिमपटक डडेल्धुराबाट चुनाव जित्ने चाहना अधुरै रहन पुगेको छ ।

देउवाले २०४८ सालमा पहिलोपटक आमनिर्वाचन लड्दै संसदीय राजनीतिमा प्रवेश गरेका थिए । उक्त निर्वाचनमा उनले २४ हजार ५७० मत ल्याएर फराकिलो जित निकालेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका गोविन्दबहादुर कलौनीले ६ हजार ६२८ मत मात्र प्राप्त गरेका थिए । यसले डडेल्धुरामा देउवाको बलियो राजनीतिक आधार सुरुदेखि नै रहेको संकेत गरेको थियो ।२०५१ सालको मध्यावधि निर्वाचनमा कुल मत संख्या बढे पनि देउवाको मत केही घट्यो । ३३ हजार ५२३ मत खसेको उक्त निर्वाचनमा देउवाले २० हजार ७०१ मत ल्याउँदै पुनः जित निकाले । त्यसपछि २०५६ सालको आमनिर्वाचन देउवाका लागि झनै सहज रह्यो । ४४ हजार २९३ मत खसेको निर्वाचनमा उनले २८ हजार ६५१ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी एमालेका बागेश्वरीदत्त चटौतलाई ठूलो मतान्तरले पराजित गरे ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचन भने देउवाका लागि चुनौतीपूर्ण बन्यो । शान्ति प्रक्रियापछि माओवादी केन्द्र पहिलोपटक निर्वाचनमा सहभागी हुँदा देशभर कांग्रेस र एमालेका धेरै शीर्ष नेताहरू पराजित भएका थिए । यस्तो परिस्थितिमा पनि देउवाले डडेल्धुराबाट २० हजार ५२९ मत प्राप्त गर्दै माओवादी उम्मेदवार खगराज भट्टलाई १ हजार ३६८ मतान्तरले हराउन सफल भए । यो देउवाको सबैभन्दा झिनो जित मानिन्छ ।२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा देउवाले पुनः आफ्नो पकड मजबुत बनाए । उनले २३ हजार ९२० मत ल्याउँदा माओवादी उम्मेदवार खगराज भट्ट १२ हजार ४९३ मतमै सीमित भए । २०७४ सालमा वाम गठबन्धन बनेर कांग्रेसविरुद्ध कडा प्रतिस्पर्धा भए पनि देउवाको अपराजित यात्रामा कुनै असर परेन । उनले २८ हजार ४४६ मत ल्याएर ६ हजार ९४८ मतान्तरले जित हात पारे ।

२०७९ सालको निर्वाचन देउवाको राजनीतिक जीवनको अन्तिम संसदीय निर्वाचन सावित भयो । स्वतन्त्र उम्मेदवार सागर ढकाल र कांग्रेस (बीपी)का उम्मेदवार कर्णबहादुर मल्लसहित बहुपक्षीय प्रतिस्पर्धाका बाबजुद देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दै १२ हजार ४९२ मतान्तरको जित निकाले । यससँगै उनले २०४८ सालदेखि जोगाउँदै आएको आफ्नो “डडेल्धुरा किल्ला” अन्तिमपटक सुरक्षित गरे ।संसदीय यात्रासँगै देउवाको कार्यकारी भूमिका पनि उतारचढावपूर्ण रह्यो । उनी २०५२, २०५८, २०६१, २०७४ र २०७८ गरी पाँचपटक प्रधानमन्त्री बने । यद्यपि पाँच कार्यकाल जोड्दा उनले जम्मा ५ वर्ष ७ महिना ७ दिन मात्र प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले । कुनै पनि कार्यकाल पूरा गर्न नपाएका देउवा राजनीतिक अस्थिरताको प्रतीक पात्रका रूपमा पनि चित्रित हुँदै आएका छन् ।

पछिल्लोपटक एमालेसँगको सत्ता समीकरणमा देउवा पुनः प्रधानमन्त्री बन्ने तयारीमा थिए । तर, २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । त्यसपछि प्रतिनिधिसभा विघटन भई २१ फागुनमा निर्वाचनको घोषणा भयो । यस्तैबीच कांग्रेसभित्र विशेष महाधिवेशन भयो र गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भयो । निर्वाचन आयोगले उक्त कार्यसमितिलाई आधिकारिक मान्यता दिएपछि देउवा पार्टी नेतृत्वबाट समेत बाहिरिए ।तीन दशकभन्दा लामो संसदीय राजनीति, सातवटा लगातार निर्वाचन जित, पाँचपटक प्रधानमन्त्री र कांग्रेसको केन्द्रीय नेतृत्व—यी सबै उपलब्धिसहित शेरबहादुर देउवाले अब सक्रिय निर्वाचन राजनीतिबाट विश्राम लिने संकेत गरेका छन् । उनको राजनीतिक अवकाशले नेपाली कांग्रेस मात्र होइन, समग्र नेपाली राजनीतिमा एउटा युगको अन्त्य भएको अनुभूति गराएको छ ।

Please Login to comment in the post!

you may also like