जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दैनिक १५ लाख मतपत्र छपाइ गरिरहेको जनाएको छ। केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख थान मतपत्र छाप्नुपर्नेमा बुधबारसम्म एक करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न भइसकेको छ। सुरुवातमा दैनिक १३ लाख मतपत्र छापिँदै आएकामा अहिले गति बढाएर दैनिक १५ लाख पु¥याइएको र शुक्रबार साँझसम्म सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए। उनका अनुसार करिब ५० लाख मतपत्र छपाइ बाँकी रहेकाले ढिलोमा शनिबारसम्म सम्पूर्ण छपाइ कार्य सकिनेछ।
उम्मेदवार संख्या धेरै भएको जिल्लामा ठूलो आकार तथा थोरै उम्मेदवार भएको जिल्लामा सानो आकारको मतपत्र छाप्नुपर्ने भएकाले केही ढिलाइ भएको केन्द्रले जनाएको छ। केन्द्रले १० लाख नमूना मतपत्र छापिसकेको छ, जसलाई निर्वाचन आयोगले विभिन्न स्थानमा वितरण गरिसकेको छ। यसअघि समानुपातिकतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ र प्याकिङ सम्पन्न गरिसकेपछि प्रत्यक्षतर्फको छपाइ सुरु गरिएको हो। आज बिहीबारदेखि छापिएका मतपत्र जिल्ला–जिल्लामा पठाउन थालिने र दुर्गम क्षेत्रलाई प्राथमिकता दिइने पौडेलले बताए। फागुन १० देखि १२ गतेभित्र सबै जिल्लामा मतपत्र पुर्याइसक्ने लक्ष्य केन्द्रले लिएको छ।