• Tuesday, March 3, 2026

गोल्डम्यान स्याक्सको प्रक्षेपणपछि सुनको मूल्य झन् तात्यो


बुधबार सुनको मूल्यले नेपाली बजारमा इतिहासकै उच्च रेकर्ड बनायो। प्रतितोला दुई लाख ९५ हजार एक सय रुपैयाँ पुगेको सुनको भाउ बिहीबार भने एकै दिन दुई हजार नौ सय रुपैयाँले घटेर दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भयो। यद्यपि एक दिनको सामान्य करेक्सन भए पनि सुनको मूल्य हालसम्मकै उच्च तहमा नै रहेको छ। यही कारण पछिल्ला दिनमा विश्व बजारदेखि नेपाली बजारसम्म “अहिले सुन किन्ने समय हो कि बेच्ने?” भन्ने बहस चर्किएको छ।सुनको मूल्यमा पछिल्लो केही वर्षयता असाधारण वृद्धि देखिएको छ। सन् २०२५ मा मात्रै सुनको मूल्य विश्व बजारमा करिब ६४ प्रतिशतले बढेको थियो भने सन् २०२६ को हालसम्म पुग्दा झण्डै १२ प्रतिशत वृद्धि भइसकेको छ। यसको असर नेपाली बजारमा झन् तीव्र देखिएको छ। नेपालमा पछिल्लो एक वर्षको अवधिमा सुनको भाउ ७४.४४ प्रतिशतले बढेको छ। २०८१ माघ ३० गते प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँ रहेको सुनको मूल्य हाल बढेर दुई लाख ९२ हजार दुई सय रुपैयाँ पुगेको हो।

सुनको मूल्य अझै बढ्न सक्ने अनुमान विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले गरेका छन्। विश्व बजारमा सुन, सेयर तथा अन्य लगानी क्षेत्रमा प्रभावशाली भूमिका खेल्ने अमेरिकी लगानी बैंक गोल्डम्यान स्याक्सले सन् २०२६ को अन्त्यसम्म सुनको मूल्यसम्बन्धी आफ्नो प्रक्षेपण संशोधन गरेको छ। यसअघि गोल्डम्यान स्याक्सले प्रतिऔंस सुनको मूल्य ४९०० अमेरिकी डलर पुग्ने अनुमान गरेको थियो। तर हाल उसले सो अनुमान बढाउँदै प्रतिऔंस ५४०० डलर पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ।हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस करिब ४८२९ डलरमा कारोबार भइरहेको छ। यदि गोल्डम्यान स्याक्सको प्रक्षेपण अनुसार सुनको मूल्य प्रतिऔंस ५४०० डलर पुगेमा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि पर्नेछ। प्रतिऔंस सुनको तौल ३१.१ ग्राम हुन्छ भने नेपालमा सुनको कारोबार तोलामा गरिन्छ, जहाँ एक तोला सुन ११.६६४ ग्राम बराबर हुन्छ। हाल डलरको विनिमय दर करिब १४७ रुपैयाँ रहेको अवस्थामा अन्तर्राष्ट्रिय मूल्यअनुसार एक तोला सुनको मूल्य करिब दुई लाख ९८ हजार रुपैयाँ पर्न जान्छ।

तर नेपालमा सुन आयात गर्दा विभिन्न कर र शुल्क थपिन आउने भएकाले उपभोक्ताले तिर्नुपर्ने वास्तविक मूल्य अझै बढ्छ। हाल सुनमा १० प्रतिशत भन्सार शुल्क, दुई प्रतिशत विलासिता कर र वाणिज्य बैंकले सुन व्यवसायीलाई लिने एक प्रतिशत सेवा शुल्क जोडिँदा कुल १३ प्रतिशत अतिरिक्त शुल्क लाग्छ। यी सबै शुल्क जोड्दा गोल्डम्यान स्याक्सको प्रक्षेपणअनुसार नेपालमा एक तोला सुनको मूल्य तीन लाख ३७ हजार रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। यो हालको मूल्यको तुलनामा करिब १५.१३ प्रतिशतले बढी हो।विशेषज्ञहरूका अनुसार सुनको मूल्य बढ्नुका पछाडि धेरै अन्तरसम्बन्धित कारणहरू छन्। सुनलाई परम्परागत रूपमा ‘सेफ हेभन’ अर्थात् सुरक्षित लगानीको माध्यम मानिन्छ। अमेरिकी व्यापार नीतिमा आएको अनिश्चितता, सम्भावित मुद्रास्फीति, र सन् २०२६ सम्म विश्व अर्थतन्त्र मन्दीमा जान सक्ने आशंकाले लगानीकर्ताहरूलाई सुनतर्फ आकर्षित गरिरहेको छ। जोखिम बढेका बेला लगानीकर्ताहरू सेयरजस्ता अस्थिर साधनबाट पैसा झिकेर सुनमा लगानी गर्ने प्रवृत्ति बढ्ने गर्छ।

त्यस्तै विश्वका विभिन्न भागमा देखिएका भूराजनीतिक तनावले पनि सुनको मूल्य बढाउन भूमिका खेलेको छ। गाजा, युक्रेन, यमन, इरान र भेनेजुएला जस्ता देशहरूमा जारी द्वन्द्व र राजनीतिक अस्थिरताले विश्व अर्थतन्त्रमा अनिश्चितता थपेको छ। यस्तो अवस्थामा सुन सुरक्षित सम्पत्तिको रूपमा अझै आकर्षक बन्दै गएको छ।यसका अतिरिक्त अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार सट्टेबाजीको माध्यमका रूपमा पनि हुने गर्दछ। सेयर बजारजस्तै सुनको भविष्य कारोबार (फ्युचर्स ट्रेडिङ) र डेरिभेटिभ्समार्फत ठूलो मात्रामा लगानी भइरहेका कारण मूल्यमा तीव्र उतारचढाव देखिने गरेको छ। यस्ता सट्टेबाजी गतिविधिले कहिलेकाहीँ वास्तविक मागभन्दा धेरै मूल्य बढ्ने अवस्था पनि सिर्जना गर्छ।यद्यपि सुनको मूल्य सधैं बढिरहन्छ भन्ने निश्चित छैन। विश्व राजनीतिमा सुधार, अमेरिकी केन्द्रीय बैंकको ब्याजदर नीति, डलरको सुदृढता तथा लगानीकर्ताको धारणा परिवर्तन भएमा सुनको मूल्य छोटो समयमै घट्न पनि सक्छ। त्यसैले विज्ञहरू सुनमा लगानी गर्नुअघि केवल मूल्य बढिरहेको छ भन्ने आधारमा होइन, दीर्घकालीन जोखिम, व्यक्तिगत आर्थिक अवस्था र लगानी उद्देश्य स्पष्ट बुझेर निर्णय लिन सुझाउँछन्।समग्रमा, सुन हाल आकर्षक लगानी विकल्प बनेको भए पनि यसमा जोखिम पनि उत्तिकै छ। त्यसैले बजारका कारणहरू बुझ्दै, दीर्घकालीन दृष्टिकोण राखेर मात्रै लगानी गर्नु नै विवेकपूर्ण हुने देखिन्छ।

Please Login to comment in the post!

you may also like