काठमाडौं– नेपाल वायुसेवा निगमलेअसोज ९ गते बिहीबार देखि चीनको ग्वाङ्जाओ सहरमा नियमित सेड्युल उडान शुरू गर्ने भएको छ। निगमले पहिलोपटक काठमाडौंबाट सिधै ग्वाङ्जाओमा उडान सञ्चालन गर्न लागेको हो।निगमका प्रवक्ता मनोज साहका अनुसार काठमाडौं–ग्वाङ्जाओ–काठमाडौं मार्गमा सातामा तीन दिन (आइतबार, मंगलबार र शनिबार) उडान हुने तालिका तय गरिएको छ। पहिलो उडान असोज ९ गते र दोस्रो असोज १२ गते हुने छ। त्यसपछि असोज ३०, कात्तिक २ र कात्तिक ६ गते उडान हुने निगमले जनाएको छ। नियमित उडान भने कात्तिक ६ पछि हरेक आइतबार, मंगलबार र शनिबार सञ्चालन हुनेछ।
उडान राति १०:१५ बजे काठमाडौंबाट ग्वाङ्जाओ प्रस्थान गर्नेछ भने फर्कने उडान भोलिपल्ट बिहान हुने तालिका छ। एकतर्फी भाडा ३०,००० रुपैयाँ र दुईतर्फी भाडा ५०,००० रुपैयाँ तोकिएको छ।“लामो समयको प्रयासपछि निगमले चिनियाँ सहरमा उडान शुरू गर्न लागेको छ। यो गन्तव्यमा उडान सुरु भएसँगै राष्ट्रिय ध्वजाबाहकलाई रुचाउने यात्रुहरूलाई सहज हुने विश्वास लिएका छौं,” प्रवक्ता साहले भने।
निगमले कोरिया र अष्ट्रेलियामा पनि सिधा उडानको तयारी गरिरहेको छ, तर ती गन्तव्यका लागि अझै अनुमति प्राप्त भइसकेको छैन। हाल निगमले दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, यूएईको दुबई, हङकङ, भारतको दिल्ली, मुम्बई, बैंगलोर, थाइल्याण्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारिता उडान सञ्चालन गर्दै आएको छ।