काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८१ मा शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ । महानगरभित्रका विद्यालयहरूमा अध्ययनरत ३० हजार ७७९ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएका छन् । छात्रवृत्तिलाई प्रणालीमा आधारित बनाएपछि पहुँच, पारदर्शिता र समावेशीतामा उल्लेखनीय सुधार आएको शिक्षा विभागले जनाएको छ ।
प्राप्त विवरणअनुसार छात्रा छात्रवृत्तिमा ५ हजार ८९५, दलित छात्रवृत्तिमा १ हजार ३२२, तथा अपाङ्ग र आवासीय छात्रवृत्तिमा ४५५ जना विद्यार्थी लाभान्वित भएका छन् । त्यस्तै, संस्थागत विद्यालयमा कक्षा १ देखि १० सम्म १९ हजार ३०६ र कक्षा ११ र १२ मा ३ हजार ८०१ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन् ।
यस वर्ष कक्षा १ देखि १२ सम्मका ५६ हजार ३०१ विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, ५८ हजार ७३९ विद्यार्थीलाई नियमित दिवा खाजा, तथा १७ हजार ६८९ छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गरिएको छ । यसका कारण विद्यार्थी उपस्थिति र निरन्तरतामा सकारात्मक प्रभाव परेको विभागको निष्कर्ष छ ।
यसैबीच, ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी नाम परिवर्तन गरेका छन्, जसलाई शैक्षिक पहिचान सुदृढीकरणको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
शिक्षा क्षेत्रका लागि यस वर्ष ३ अर्ब २९ करोड ४७ लाख ७७ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । जसमध्ये ५३.८ प्रतिशत अर्थात् १ अर्ब ७७ करोड ३४ लाख ४२ हजार रुपैयाँ खर्च भएको छ ।
यस वर्ष ७७ विद्यालयमा प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति, ८२ विद्यालयलाई सुन्दर विद्यालय निर्माण अनुदान, तथा १ हजार ४३ जना शिक्षकको क्षमता विकास कार्यक्रम सम्पन्न गरिएको छ ।
बाल विकास केन्द्रको स्तरोन्नतिपछि भर्ना दर बढेको, एसईई परीक्षामा उच्च ग्रेड ल्याउने विद्यार्थीको संख्या वृद्धि भएको, तथा विद्यालयहरूको भौतिक, वातावरणीय र प्रविधिगत अवस्था सुधार हुँदै गएको शिक्षा विभागले जनाएको छ ।
दिवा खाजा र सेनिटरी प्याड वितरणपछि छात्राछात्राको नियमित उपस्थितिमा उल्लेखनीय वृद्धि, कक्षाहरू सूचना प्रविधिमा आधारित, र प्राविधिक धारमा अध्ययनको पहुँच विद्यालय तहबाटै विस्तार हुनु यस वर्षका मुख्य उपलब्धि हुन् ।
७८४ शैक्षिक संस्था, २ लाख ८३ हजार विद्यार्थी
महानगरपालिकाभित्र हाल
यस वर्ष सामुदायिक विद्यालयमा ६२ हजार ८८ र संस्थागत विद्यालयमा २ लाख २१ हजार ६४४ गरी कुल २ लाख ८३ हजार ७३२ विद्यार्थी अध्ययनरत छन् ।
२,३०३ जनशक्ति शिक्षा क्षेत्रमा क्रियाशील
महानगरको शिक्षा प्रणाली सञ्चालनका लागि २ हजार ३०३ जना जनशक्ति कार्यरत छन् । जसमा शिक्षक, सहजकर्ता, आया, विद्यालय सहयोगी, प्राविधिक प्रशिक्षक तथा भाषा सहायकहरू समावेश छन् ।