काठमाडौँ। कैलालीसँग जोडिएका नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता कडा पारेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिको परिचय अनिवार्य रूपमा स्पष्ट हुनुपर्ने प्रशासनको आग्रह छ।
जिल्लास्तरीय सुरक्षा मूल्यांकनपछि शंकास्पद व्यक्ति तथा समूह अवैध रूपमा देशभित्र प्रवेश गर्न सक्ने सम्भावना देखिँदा सीमा क्षेत्रमा जाँच कडाइ गरिएको सूचना अधिकारी शिवराज जोशीले बताए।
‘सुरक्षालाई प्राथमिकता दिँदै सीमा जाँच कडाइ गरिएको हो,’ जोशीले भने, ‘यदि कुनै शंकास्पद व्यक्ति वा समूह देखिएमा नजिकको सुरक्षा निकायलाई तुरुन्त जानकारी दिन सबैमा अनुरोध गर्दछौँ।’
प्रशासनले अपरिचित व्यक्तिलाई घरमा बस्न नदिने, कुनै काममा नलगाउने तथा समुदायमा सतर्कता अपनाउन आग्रह गरेको छ।