• Thursday, March 5, 2026

१० जना विशिष्ट व्यक्तिलाई ज्यान मार्ने धम्की


काठमाडौं। नेपाल प्रहरीले देशका १० जना विशिष्ट व्यक्तिलाई ज्यान मार्ने धम्की आएको भन्दै उच्च सतर्कता अपनाउँदै सुरक्षा व्यवस्था कडा पारेको छ। ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामको अज्ञात समूहले सामाजिक सञ्जाल र अनलाइन माध्यमबाट धम्की दिएको दाबी गर्दै दियोपोस्ट अनलाइनले समाचार प्रकाशित गरेपछि प्रहरी प्रधान कार्यालयले तत्काल मातहतका सबै निकायमा सर्कुलर जारी गरेको हो।

धम्की पाउनेहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्व महानिर्देशक गोपालबहादुर खड्का, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, कांग्रेस नेतृ तथा पूर्वमन्त्री आरजु राणा देउवा, पूर्व प्रहरी महानिरीक्षकहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाम समावेश छ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार नै सबै प्रहरी वृत्त, प्रभाग र वडा प्रहरी कार्यालयहरूलाई परिपत्र गरेका छन्। परिपत्रमा भनिएको छ– “उल्लिखित व्यक्तिहरूको निवासस्थल, भ्रमण मार्ग र कार्यक्रम स्थलहरूमा उच्च सतर्कता अपनाई भरपर्दो सुरक्षा व्यवस्था मिलाउनु, सादा पोसाकमा प्रहरी परिचालन गरी गोप्य सूचना सङ्कलन गर्नु तथा सम्बन्धित व्यक्तिसँग समन्वय गरी सम्पूर्ण सुरक्षा प्रबन्ध गर्नु।” त्यस्तै, उनीहरू बसोबास गर्ने क्षेत्रमा गस्ती र पेट्रोलिङलाई तीव्र बनाउन, सन्दिग्ध गतिविधिको निगरानी गर्न र कुनै पनि असामान्य घटना भए तत्काल माथिल्लो निकायमा खबर गर्न निर्देशन दिइएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पनि यो विषयमा विशेष निगरानी राख्न भनिएको छ।

धम्की दिने भनिएको ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामको समूहको अस्तित्व र विश्वसनीयताबारे प्रहरीले अझै आधिकारिक पुष्टि गरेको छैन। तर, विगतमा पनि यस्ता अज्ञात समूहले सामाजिक सञ्जालमार्फत धम्की दिएका घटना नदेखिएका होइनन्। सुरक्षा निकायले यस्ता धम्कीलाई पूर्ण रूपमा बेवास्ता नगरी सतर्कता अपनाउने नीति लिएको बताइएको छ।

धम्की पाउनेहरूमा राजनीतिक, प्रशासनिक र व्यवसायिक क्षेत्रका चर्चित अनुहारहरू रहेका कारण यो घटनाले सुरक्षा चुनौती र राजनीतिक तरङ्ग दुवै सिर्जना गरेको छ। विशेष गरी नेपाली कांग्रेसका शीर्ष नेताहरूको नाम धम्की सूचीमा परेपछि पार्टीभित्र पनि छलफल सुरु भएको बुझिएको छ।

प्रहरीले धम्कीको स्रोत पत्ता लगाउन साइबर ब्यूरो र अपराध अनुसन्धान विभागलाई समेत सक्रिय बनाएको जनाएको छ। यद्यपि, यो धम्की कुनै व्यक्तिगत रिसइबी वा संगठित समूहको योजनाबद्ध कार्य हो भन्ने यकिन हुन बाँकी छ। सुरक्षा विज्ञहरूका अनुसार यस्ता धम्कीले राज्यको सुरक्षा संयन्त्रको परीक्षा लिने र जनमानसमा त्रास फैलाउने उद्देश्य राख्छ।

अहिलेसम्म धम्की पाएका कुनै पनि व्यक्तिले सार्वजनिक रूपमा प्रतिक्रिया जनाएका छैनन्। तर, सुरक्षा निकायले उनीहरूसँग समन्वय गरी थप सुरक्षा माग भए तत्काल उपलब्ध गराउने तयारी गरेको छ। यो घटनाले फेरि एकपटक नेपालको आन्तरिक सुरक्षा अवस्थामाथि प्रश्न उठाएको छ भने राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूको सुरक्षामा नयाँ चुनौती थपिएको छ।

Please Login to comment in the post!

you may also like