• Tuesday, March 3, 2026

विदेशमा रहेका नेपाली विद्यार्थीलाई अनलाइनबाट पढाइ दिने त्रिविको तयारी, दूतावासमार्फत परीक्षा



त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विदेशमा रहेका नेपाली विद्यार्थीलाई अब स्वदेशमै जस्तै अनलाइनमार्फत अध्ययन गर्न पाउने व्यवस्था अघि बढाउने तयारी गरेको छ। बुधवार प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा बस्ने त्रिवि सभा (सिनेट) बैठकमा पेस गरिने आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा अनलाइन शिक्षालाई प्रणालीगत रूपमा विस्तार गर्ने निर्णय समावेश गरिएको छ।नीति तथा कार्यक्रममा क्याम्पसमा प्रयोगात्मक कक्षा नभएका विषयहरू अनलाइन माध्यमबाट पढाइ सञ्चालन गर्ने स्पष्ट उल्लेख छ। यसअघि कोभिड–१९ महामारीका क्रममा त्रिविलगायत कतिपय विश्वविद्यालयहरूले अनलाइन कक्षा र परीक्षा सञ्चालन गरेका थिए। तर त्यो अस्थायी उपाय थियो। अब त्रिविले विदेशमा बसेर अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै स्थायी मोडेलमार्फत अनलाइन शिक्षा उपलब्ध गराउन लागिरहेको हो।

अनलाइन कक्षा विदेशबाटै लिन पाउने विद्यार्थीहरूको परीक्षा भने अनिवार्य रूपमा भौतिक उपस्थिति सहित नै हुने व्यवस्था गरिँदैछ। त्रिवि स्रोतका अनुसार सम्बन्धित देशस्थित नेपाली दूतावाससँग सहकार्य गरेर परीक्षा केन्द्र स्थापना गरिनेछ। यसले अनलाइन शिक्षाप्रति उठ्ने शंका–उदासीनता हटाउन र शैक्षिक विश्वसनीयता जोगाउन मद्दत गर्ने बताइएको छ।त्रिविका अधिकारीहरूका अनुसार विद्यार्थीले विदेशमै बसेर अनलाइन कक्षा लिने, असाइनमेन्ट बुझाउने र अन्तिम परीक्षाका लागि दूतावासको तहमै रहेको केन्द्रमा उपस्थित भएर परीक्षा दिन सक्नेछन्। यसले पढाइका क्रममा ‘दूरी’ का कारण हुने बाधा हटाउने मात्रै होइन, डिग्रीको विश्वसनीयता कायम राख्नेछ।त्रिविले विदेशमा अध्ययन गर्दै नेपाली डिग्री प्राप्त गर्ने विद्यार्थीलाई शैक्षिक र आर्थिक दुवै लाभ हुने दाबी गरेको छ। त्रिविका अनुसार विदेशमा महँगो शुल्क तिर्नुपर्ने बाध्यता हटेर, विद्यार्थीले स्वदेशमै मान्यता प्राप्त डिग्री हासिल गर्न सक्नेछन्। साथै स्वदेश फर्किएपछि रोजगारी, पेशागत मान्यता र पोइन्ट–प्रमाणिकरण प्रक्रियामा पनि सहजता हुने त्रिविको दाबी छ।

नेपाल खुला विश्वविद्यालय ले पहिलेदेखि नै स्वदेश र विदेश दुवैतिर रहेका विद्यार्थीलाई अनलाइन पाठ्यक्रम र अनलाइन परीक्षा सञ्चालन गर्दै आएको छ। त्रिविले पनि सोही मोडेललाई केही भिन्नता र दूतावास संयन्त्रको सहकार्यसहित लागू गर्न लागिरहेको विश्लेषकहरूको भनाइ छ।बुधवार बिहान ११ बजे बस्ने त्रिवि सभा (सिनेट) बैठकमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पेस गरिनेछ। मंगलबार बसेको प्रि–सिनेट वैठकले उक्त कार्यक्रममाथि विस्तृत छलफल गरी अन्तिम रूप दिएको थियो। यो सभा त्रिविको नीति निर्धारण, बजेट विनियोजन तथा दीर्घकालीन योजनाका लागि अत्यन्त महत्वपूर्ण निर्णय–मञ्च मानिन्छ।नीति तथा कार्यक्रममा विश्वविद्यालयको ब्रान्डिङ र आर्थिक आर्जन बढाउने उद्देश्यले लोगो अंकित विभिन्न सामग्री उत्पादन गर्न लाग्ने उल्लेख छ। त्रिविले स्मारिका, उपहारसामग्री, पोसाक, उपकरण, स्टेशनरी, झोला, डायरीदेखि अन्य क्युरियो सामग्री उत्पादन गरी बिक्री गर्ने योजना बनाएको छ। विश्वविद्यालयहरूले आफ्नै ब्रान्डका सामग्रीमार्फत आय–आर्जन गर्ने अभ्यास विश्वभर सामान्य छ, र त्रिविले पनि सोही अभ्यासको सुरुवात गर्न लागेको हो।

त्रिवि मातहतका विभिन्न अध्ययन संस्थान, संकाय, क्याम्पस, विभाग तथा स्वशासित निकायहरूमा दिइँदै आएको शिक्षक र कर्मचारीको सुविधा असमान रहेको धेरै वर्षदेखि उठ्दै आएको गुनासो हो। यही समस्यालाई सम्बोधन गर्न त्रिविले उच्चस्तरीय समिति गठन गरी सुविधा–व्यवस्थापनमा एकरूपता ल्याउने उल्लेख नीति तथा कार्यक्रममा राखिएको छ। यो कदमले संस्थागत व्यवस्थापनमा समानता र पारदर्शिता कायम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

Please Login to comment in the post!

you may also like