काठमाडौँ । नेकपा (एमाले) भित्र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गम्भीर असन्तुष्टि प्रकट भएको छ । बिहीबार दिउँसो १ बजेका लागि तय भएको पार्टीको पदाधिकारी बैठकअघि बुधबार साँझ थापागाउँस्थित मदन भण्डारी हीरक महोत्सवको कार्यालयमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा ६ जना शीर्ष नेताको गोप्य भेला बसेर ओलीलाई चुनौती दिने रणनीति बनाएको उच्च स्रोतले बताएको छ ।
उक्त भेलामा पोखरेलसहित उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी थिए । पूर्वराष्ट्रपति विद्या भण्डारी पनि सोही कार्यालयमा राजनीतिक गतिविधि सञ्चालन गरिरहेकी भए पनि बुधबारको भेलामा उनी उपस्थित थिइनन् ।
बैठकले चार मुख्य विषयमा ओलीसामु कडा प्रश्न उठाउने निर्णय गरेको छ :
१. नेतृत्व परिवर्तनको दाबी
पोखरेलले औपचारिक रूपमा एमाले अध्यक्षमा उम्मेदवारी दिने निर्णय भएको छ । भेलामा सहभागी एक पदाधिकारीले भने, “अध्यक्षज्यू (केपी ओली) लाई सम्मानित नेताको रूपमा राख्दै अब पार्टीको नेतृत्व वरिष्ठ उपाध्यक्ष पोखरेलज्यूले गर्नुपर्छ भन्ने हाम्रो ठहर हो ।” उनले ओलीलाई सहजै मार्गप्रशस्त गर्न आग्रह गर्ने, नमाने उम्मेदवारी घोषणा गर्ने रणनीति बनेको छ । स्रोतका अनुसार आगामी ८ वा ९ गते पोखरेलले पत्रकार सम्मेलनमार्फत अध्यक्षको उम्मेदवारी घोषणा गर्नेछन् ।
२. महाधिवेशन प्रतिनिधि छनोटमा पारदर्शिताको माग
२७ मङ्सिरबाट सुरु हुने ११औँ महाधिवेशनमा प्रतिनिधि छनोटमा धाँधली हुने आशङ्का गर्दै इतर पक्षले कडा आपत्ति जनाएको छ । विशेषगरी रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठलगायत हालै एमाले प्रवेश गरेका नेताहरूलाई आयोजक कोटामा केन्द्रीय सदस्य बनाएर प्रतिनिधि बनाउन खोजिएकोमा प्रश्न उठाइएको छ । उनीहरूलाई अध्यक्षले मनोनयन गर्न पाउने ५ प्रतिशत कोटाभित्रै राख्नुपर्ने माग गरिएको छ । साथै विभागबाट आउने प्रतिनिधिको मापदण्डमा पनि पारदर्शिता खोजिएको छ ।
३. नेशनल भोलेन्टियर फोर्सको औचित्यमाथि गम्भीर प्रश्न
शुक्रबार औपचारिक घोषणा गर्न लागिएको ‘नेशनल भोलेन्टियर फोर्स’ लाई इतर समूहले ‘जबज विपरीत’ र ‘गुण्डागर्दीको नयाँ संस्करण’ भन्दै कडा विरोध गरेको छ । २०६५ मा गठन भएको युथ फोर्सले गुण्डागर्दी र ठेक्कापट्टामा दादागिरी गरेको इतिहास दोहोरिने खतरा रहेको उनीहरूको ठहर छ । सिमरा घटना र तराईमा बढ्दो एमाले विरोधका बीच यस्तो फोर्सले हिंसा र द्वन्द्व भड्काउने चिन्ता व्यक्त गरिएको छ । भेलामा सहभागी नेताहरूले महाधिवेशनको सुरक्षाका लागि प्रहरीलाई जिम्मेवारी दिनुपर्ने र फोर्स घोषणा नै रोक्नुपर्ने माग राखेका छन् ।
४. गुण्डुमा ओलीको सुरक्षाका नाममा ‘चन्दा आतङ्क’
जेन–जी आन्दोलनका क्रममा बालकोटको घरमा आगजनी भएपछि ओली भक्तपुरको गुण्डुमा बसेका छन् । पोलिटब्युरो सदस्य महेश बस्नेतको नेतृत्वमा सञ्चालित उक्त घरको भाडा, सुरक्षा र कार्यकर्ता खानपानमा दैनिक लाखौँ खर्च हुने गरेको र यो रकम देशका ठूला व्यवसायी तथा पार्टीका नेता–मन्त्रीहरूसँग जबर्जस्ती उठाइएको गम्भीर आरोप इतर पक्षले लगाएको छ । “अध्यक्षको सुरक्षाका नाममा चन्दा आतङ्क मच्चाइएको छ,” एक पदाधिकारीले भने ।
बिहीबारको पदाधिकारी बैठकमा यी सबै विषय कडारूपमा उठे पनि अध्यक्ष ओलीले फोर्स घोषणाबाट पछि नहट्ने सङ्केत गरेको स्रोतले बताएको छ । “उहाँले देशलाई थप द्वन्द्वमा लैजाने गरी अघि बढ्नुभएको छ,” बैठकमै सहभागी एक पदाधिकारीले भने ।
एमालेको आगामी महाधिवेशन यसअघिको भन्दा निकै पेचिलो र विभाजनको सङ्घारमा पुग्ने संकेत देखिएको छ । ‘विद्या भण्डारी फ्याक्टर’ र पोखरेलको उम्मेदवारी घोषणासँगै पार्टीभित्रको सङ्कट थप चुलिने निश्चित देखिएको छ ।