जहाजको यात्रा सुरु हुनुअघि यात्रुका मनमा सबैभन्दा धेरै उठ्ने प्रश्नमध्ये एउटा हो—“के–के लैजान पाइन्छ र के–के पाइँदैन ?” विशेष गरी विदेश यात्रा गर्दा आफ्नै भान्साको स्वाद, आफ्नै संस्कृतिको चिनो र आफ्नै आवश्यकताका सामान साथमा बोक्न मन लाग्नु स्वाभाविक हो। तर हवाई यात्राका आफ्नै कडा नियम, अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड र गन्तव्य मुलुकका कानुनले यात्रुको चाहनालाई धेरै ठाउँमा सीमित बनाइदिन्छन्। त्यसैले जहाज चढ्नुअघि जानकारी नहुँदा विमानस्थलमै सामान फ्याँकिने, जफत हुने वा अनावश्यक झन्झटमा पर्नु नौलो कुरा होइन।
विमानस्थलमा सबैभन्दा धेरै फ्याँकिने सामानमध्ये पहिलो नम्बरमै पर्छ—घिउ। धेरै यात्रुले घिउलाई सामान्य खाद्य पदार्थ ठानेर झोलामा हालेर लैजान खोज्छन्, तर सही तरिकाले प्याक नगर्दा यो पग्लिएर चुहिन सक्छ। त्यसैले घिउ लैजानै परेमा मजबुत, हावारोधी प्याकिङ गर्नुपर्छ र कहिल्यै पनि ह्याण्ड क्यारीमा नराखी चेक–इन लगेजमै राख्नुपर्छ। यही नियम अचारमा पनि लागू हुन्छ। अचार लैजान पाइन्छ, तर झोलामा होइन, सुरक्षित प्याकिङसहित लगेजमा। तर खुर्सानीको धूलो भने पूर्ण रूपमा निषेधित वस्तुमा पर्छ। यसले शंका उत्पन्न गर्न सक्छ र झमेलासमेत निम्त्याउन सक्छ।नेपालीको भान्सासँग गहिरो सम्बन्ध राख्ने माछा–मासु, गुन्द्रुकजस्ता परिकार पनि यात्राका क्रममा विवादको विषय बन्न सक्छन्। माछा–मासु लैजान चाहनेले अनिवार्य रूपमा क्वारेनटाइन कार्यालयबाट अनुमति पत्र लिनुपर्छ। नत्र, गन्तव्य देशमा पुगेपछि जफत मात्र होइन, जरिवानासमेत तिर्नुपर्ने अवस्था आउन सक्छ। गुन्द्रुक लैजान पाइन्छ, तर यसको गन्धका कारण कतिपय देशका विमानस्थलमा नेपालीहरू अनावश्यक सोधपुछमा परेका उदाहरण छन्। विशेष गरी खाडी मुलुकहरूमा गुन्द्रुकलाई शंकाको दृष्टिले हेर्ने गरिन्छ। त्यसैले यस्ता खाद्य सामग्री बोक्नुअघि गन्तव्य देशको नियम बुझ्नु अत्यन्त आवश्यक हुन्छ।भान्सामा प्रयोग हुने प्रेसर कुकर, डाडुपन्यु, कराई, सिलौटो, थालजस्ता सामग्री लैजान पाइन्छ, तर ती सबै चेक–इन लगेजमै राख्नुपर्छ। प्रेसर कुकरको हकमा भने बिर्को खोलेर राख्नु अनिवार्य हुन्छ। यस्तै, उपहारका लागि मूर्ति लैजान चाहनेले पुरातत्व विभागको प्रमाणपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्छ। मूर्ति पुरानो होइन, मानिसले बनाएको हो भन्ने प्रमाण नहुँदा यात्रु कानुनी झमेलामा पर्न सक्छ।
फलफूल, तरकारी, बिउबिजन, खुर्सानीजस्ता वस्तुहरू धेरै देशमा कडाइका साथ प्रतिबन्धित छन्। विशेष गरी अस्ट्रेलियाजस्ता देशले आफ्नो कृषि र जैविक सुरक्षा जोगाउन यस्ता सामग्रीमा कडा निगरानी गर्छन्। सेम्पु, मञ्जन र शृंगारका सामग्री पनि ह्याण्ड क्यारीमा बोक्न पाइँदैन, तर चेक–इन लगेजमा राख्न सकिन्छ।औषधि बोक्दा झन् सावधानी अपनाउनुपर्छ। सामान्य औषधि डाक्टरको प्रेस्क्रिप्सनका आधारमा बोक्न पाइन्छ, तर नशालु औषधि, सुई, सिरिन्जजस्ता सामग्री पूर्ण रूपमा प्रतिबन्धित हुन्छन्। कतिपय देशमा त केही औषधि नै गैरकानुनी मानिन्छन्। त्यसैले नियमित सेवन गर्ने औषधि भए पनि आवश्यक कागजात साथमा राख्नु अपरिहार्य हुन्छ।सुरक्षाको दृष्टिले जहाजमा लाइटर, सलाई, हातहतियार, विस्फोटक पदार्थ, चक्कु, खुकुरी, कैँची, ब्याट्री, हक्की स्टिक, क्रिकेट ब्याट, मार्सल आर्ट्सका सामग्रीजस्ता वस्तुहरू लैजान पाइँदैन। यस्ता सामान जफत हुनुका साथै यात्रु शंकाको घेरामा पर्न सक्छ। नक्कली वा खेलौनाका बन्दुक, गोलीका खोका समेत गैरसैनिक हवाई उडान ऐनअनुसार प्रतिबन्धित छन् र यसमा कडा कारबाहीको व्यवस्था छ।ई–सिगरेट पनि धेरै यात्रुका लागि समस्याको कारण बनेको छ। विशेष गरी भारत हुँदै यात्रा गर्ने यात्रुले ई–सिगरेट साथमा बोक्नु हुँदैन, किनकि भारतमा यो पूर्ण रूपमा प्रतिबन्धित छ। एयर इन्डिया, इन्डिगो, भिस्ताराजस्ता एयरलाइन्सले ई–सिगरेट जफत गर्ने गर्छन्।
यसका अतिरिक्त विषालु, रासायनिक, जैविक पदार्थ, कम्प्रेस्ड ग्यास, एसिड, पटाका, आतिसबाजीका सामग्री तथा आगोमा जल्ने वस्तुहरू जहाजमा लैजान निषेध गरिएको छ। हवाई यात्रामा मोबाइल फोनसमेत निश्चित समयमा बन्द गर्नुपर्ने नियम छ भने रेडियो, रिसिभर, चुम्बकीय उपकरणजस्ता सामग्रीले विमानको सञ्चार प्रणालीमा असर पार्न सक्ने भएकाले प्रतिबन्ध लगाइएको छ।अन्ततः, हवाई यात्रा केवल गन्तव्यमा पुग्ने माध्यम मात्र होइन, अनुशासन, जिम्मेवारी र नियमपालनको परीक्षा पनि हो। यात्रु स्वयं सचेत भएमा विमानस्थलको झन्झटबाट बच्न सकिन्छ। यात्रा सुरु हुनुअघि थोरै जानकारी लिँदा, झोलाभित्रको सामानले यात्रालाई सहज पनि बनाउँछ र सुरक्षित पनि।