• Tuesday, March 3, 2026

पुस मसान्तभित्र कांग्रेसको विशेष महाधिवेशन हुने गगन थापाको दाबी


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी विधानअनुसार आगामी पुस मसान्तभित्र विशेष महाधिवेशन हुने दाबी गरेका छन्। शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नियमित महाधिवेशन तोकिएको समयमा हुन नसकेकाले अब विशेष महाधिवेशन नै एकमात्र वैधानिक विकल्प रहेको बताएका हुन्।

उनका अनुसार पार्टीको संस्थापन पक्षले २०८३ वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका पारित गरे पनि त्यसमा आफूहरूको गम्भीर असहमति रहेको छ। थापाले विधानको दफा १७(२) उल्लेख गर्दै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबाट विशेष महाधिवेशन माग गर्न सकिने व्यवस्था रहेकाले प्रतिनिधिहरूको बहुमत भावना अनुसार पुसभित्रै विशेष महाधिवेशन हुनुपर्ने जिकिर गरे।

“अब पुस मसान्तभित्र काठमाडौंमा विशेष महाधिवेशन हुनेछ, देशभरका साथीहरूसँग अब काठमाडौंमै भेटौंला,” उनले भने। थापाले हाल प्रतिनिधिहरूको ५४ प्रतिशतभन्दा बढीको भावना विशेष महाधिवेशनको पक्षमा रहेको दाबी गर्दै कार्यसम्पादन समितिले नियमित महाधिवेशन सार्ने निर्णय गरे पनि विधानको रक्षाका लागि आफू जुनसुकै हदसम्म जान तयार रहेको स्पष्ट पारे। उनले विशेष महाधिवेशनको प्रक्रिया छिट्टै टुंगो लाग्ने विश्वाससमेत व्यक्त गरे।

Please Login to comment in the post!

you may also like