प्रधानमन्त्री कार्कीले देश निर्वाचनको निर्णायक मोडमा प्रवेश गरिसकेको स्पष्ट पार्दै निर्वाचनप्रति कुनै पनि आशंका नगर्न नागरिकहरूलाई आग्रह गरेकी छिन् । युवाको सक्रिय सहभागिताले लोकतन्त्र सुदृढ हुने विश्वास व्यक्त गर्दै उनले मताधिकारको प्रयोग नै परिवर्तनको सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गरिन् । विशेषगरी ‘जेन–जी’ पुस्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आक्रोश र सपनालाई सडकभन्दा मतपत्रमार्फत अभिव्यक्त गर्न आह्वान गरिन् । उनका अनुसार आन्दोलनले प्रश्न उठाए पनि समाधान दिने शक्ति मतपत्रमै निहित छ, र प्रत्येक मतको सुरक्षाको दायित्व राज्यले लिएको छ ।
चुनाव लोकतन्त्र र सुशासन स्थापना गर्ने राष्ट्रिय अभियान भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारमुक्त समाज र उत्तरदायी सरकार निर्माणका लागि निर्वाचन नै वैधानिक र प्रभावकारी माध्यम भएको बताइन् । कतिपय नागरिकको मनमा देश साँच्चै निर्वाचनतर्फ अघि बढिरहेको हो कि होइन भन्ने जिज्ञासा रहे पनि ती सबै आशंका निराधार रहेको उनको भनाइ थियो । फागुन २१ गते हुने निर्वाचन अब केवल कार्यतालिकाको विषय मात्र नभई देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एकमात्र निर्विकल्प मार्ग बनेको प्रधानमन्त्रीको ठम्याइ छ ।
चुनाव सारिने वा रोकिने भन्ने हल्लाहरूलाई पूर्णतः भ्रमपूर्ण करार गर्दै प्रधानमन्त्री कार्कीले सरकारले तोकिएकै समयमा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता चट्टानझैँ दृढ रहेको बताइन् । निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको, एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भएको र आवश्यकताअनुसार नेपाली सेनाको परिचालनसमेत सुनिश्चित गरिएको उनले जानकारी दिइन् ।प्रधानमन्त्रीका अनुसार आन्दोलनका क्रममा लुटिएका एक हजार ३४२ थान हतियारमध्ये अधिकांश बरामद भइसकेका छन् भने थप ३२ थान हतियार पनि प्रहरीले नियन्त्रणमा लिएको छ । क्षतिग्रस्त ४६५ वटा प्रहरी कार्यालय पुनः सञ्चालनमा ल्याइएकाले सुरक्षा व्यवस्थालाई अभेद्य बनाइएको उनको दाबी छ । निर्वाचनका लागि निर्वाचन आयोगलाई ६ अर्ब ७३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको र मतदाता नामावली ऐन संशोधन गरी निर्वाचन मिति घोषणापछि पनि आठ लाख ३७ हजार नयाँ युवालाई मताधिकार प्रदान गरिएको प्रधानमन्त्रीले बताइन् ।
एक करोड ८१ लाखभन्दा बढी नेपालीको हातमा देशको भाग्य बदल्ने साँचो रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ११४ वटा राजनीतिक दलको सहभागिताले नेपाली लोकतन्त्रको जरा कति बलियो छ भन्ने प्रमाणित भएको बताइन् । विचारमा मतभेद भए पनि देशलाई निकास दिन सबै शक्तिहरू एक ठाउँमा उभिएको सन्देश उनले दिइन् । जेन–जी आन्दोलनको भावनाअनुसार सरकारले सुशासन र निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढेको दाबी गर्दै उनले चुनावमा जित–हारभन्दा लोकतन्त्र र राष्ट्रियताको विजय नै सर्वोपरि भएको स्पष्ट पारिन् ।अराजकताले कसैलाई खुसी नदिने र शान्ति तथा स्थिरताले मात्र समृद्धिको ढोका खोल्ने उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रिय एकताको आह्वान गरिन् । परिवर्तन तत्काल प्राप्त हुने उपलब्धि नभई दीर्घकालीन प्रक्रिया भएको भन्दै उनले धैर्य, परिश्रम र सामूहिक प्रतिबद्धताको आवश्यकता औँल्याइन् । फागुन २१ को निर्वाचनलाई परिवर्तनको ढोका खोल्ने राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गर्न आग्रह गर्दै उनले यसले नेपालको राजनीतिमा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्ने विश्वास व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्कीले सरकारले असामान्य परिस्थितिलाई नियन्त्रणमा लिएर मुलुकलाई क्रमशः सामान्य अवस्थामा फर्काएको र कानुनको शासन बहालीमा उल्लेखनीय सफलता हासिल गरेको दाबी गरिन् । सुरक्षा निकायको मनोबल दीर्घकालीन रूपमा सुदृढ बनाउने काम भइरहेको बताउँदै उनले अनुसन्धान निकायहरूले हाल पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ अपराध र भ्रष्टाचारका प्रकरणमा कारबाही अघि बढाएको उल्लेख गरिन् ।ठेक्कामा मिलेमतो, विकास आयोजना अलपत्र पार्ने र राज्य स्रोत दुरुपयोग गर्ने प्रवृत्तिविरुद्ध कठोर कदम चालिएको प्रधानमन्त्रीको भनाइ छ । फजुल खर्च नियन्त्रण, वित्तीय सुशासन, अनधिकृत सुविधा कटौती र अनावश्यक कार्यालय खारेजीमार्फत राज्यको व्ययभार घटाइएको उनले बताइन् । साथै, एक खर्ब १९ अर्ब रुपैयाँ बराबरको बजेट पुनः प्राथमिकीकरण गरी ठूला विकास आयोजनामा स्थानान्तरण गरिएको, व्यवसायीका लागि पुनरुत्थान योजना ल्याइएको र हेलो सरकारमार्फत हजारौँ गुनासा सम्बोधन गरिएको जानकारी पनि उनले दिइन् ।मेलम्चीको पानी, विद्युत् उत्पादन र सार्वजनिक सेवामा सुधार आएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सरकार सुशासन, स्थिरता र लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउँदै देशलाई नयाँ दिशातर्फ लैजान प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।