• Tuesday, March 3, 2026

तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना सार्वजनिक, दुई महिनाभित्र सेवा प्रवाह तीव्र पार्ने मन्त्री गौतमको घोषणा


काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले मन्त्रालयबाट हुने सेवा प्रवाहलाई चाँडो र प्रभावकारी बनाउन ‘तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्य योजना’ सार्वजनिक गर्नुभएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मन्त्री गौतमले एकदेखि दुई महिनाभित्रै स्वास्थ्य सेवालाई द्रुत बनाउने लक्ष्यसहित योजना अगाडि सारेकी हुन्। उक्त योजनामा जेनजी घाइतेको उपचार तथा मनोसामाजिक परामर्श सेवा, नवजात शिशु तथा मातृ मृत्युदर न्यूनीकरणका लागि विशेष अभियान, सुशासन र सेवा प्रवाह सुधार, स्वास्थ्य बिमा सुदृढीकरण, सार्वजनिक खरिद सुधार तथा वैदेशिक श्रम गन्तव्यमा जाने नेपाली कामदारको स्वास्थ्य सुरक्षासम्बन्धी पहलहरू समेटिएका छन्।

योजनाअनुसार उच्च शिशु तथा मातृ मृत्युदर भएका प्रदेश तथा स्थानीय तहमा तीन तहका सरकारहरूको समन्वयमा दुई महिनासम्म विशेष कार्यक्रम सञ्चालन गरिनेछ। त्यस्तै, संघीय अस्पतालहरूमा जेनजी घाइतेलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइनेछ।

मन्त्री गौतमले संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सेवालाई नागरिकमैत्री बनाउँदै दुई सिफ्टमा बाहिरंग (OPD) सेवा सञ्चालन गर्ने तयारी थालेको पनि प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो। साथै, निर्माण सम्पन्न भई हस्तान्तरण भएका पाँच, दस र १५ शय्याका आधारभूत अस्पताल सञ्चालनका लागि अनुदान प्रदान गर्न कार्यविधि स्वीकृत गरिने उल्लेख छ।

स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन स्वास्थ्य बिमा बोर्डको संगठन संरचना र दरबन्दी छिटो स्वीकृत गर्ने, अस्पतालमा रहेका उपकरणहरूको एक महिनाभित्र नियमित मर्मतसम्भार गरी अविच्छिन्न सेवा सुनिश्चित गर्ने योजना पनि समावेश गरिएको छ।

योजनामा वैदेशिक रोजगारमा जाने नेपाली नागरिकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कमार्फत श्रम स्वास्थ्य सुरक्षा अभिमुखीकरण सञ्चालन गरिने प्रावधानसमेत राखिएको छ।

Please Login to comment in the post!

you may also like