• Tuesday, March 3, 2026

बोर्ड सदस्य परिवारको ब्रोकरबाट असीमित कारोबार सुविधा



काठमाडौं । पहुँच भएका सीमित लगानीकर्तालाई सेयर ब्रोकरमार्फत मिति उल्लेख नभएका चेक धरौटी राखेर अर्बौं रुपैयाँ बराबरको सेयर कारोबार सीमा उपलब्ध गराइएको गम्भीर तथ्य खुलेको छ । सोही अवैध कारोबार सीमा प्रयोग गरी केही लगानीकर्ताले सेयर बजारमा कृत्रिम माग सिर्जना गर्ने, मूल्य अस्वाभाविक रूपमा बढाउने र आम लगानीकर्तालाई महँगो मूल्यमा सेयर किन्न बाध्य बनाउने गरेको पाइएको छ ।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अध्ययन प्रतिवेदनले यस्तो कार्यमा संलग्न लगानीकर्तासँगै बोर्डकै तत्कालीन सञ्चालकको एकाघर परिवारको लगानी रहेको सेयर ब्रोकर कम्पनी प्रयोग भएको देखाएको छ । नियामक संस्थाका जिम्मेवार पदाधिकारीसँग सम्बन्धित व्यक्तिको लगानी रहेको ब्रोकरबाटै अवैध कारोबार सुविधा दिइनु गम्भीर हितको द्वन्द्वको विषय बनेको छ ।

सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह गरी सेयर मूल्य बढाएर कानुनविपरीत नाफा आर्जन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका दीपेन्द्र अग्रवालले हातेमालो फाइनान्सियल सर्भिसेस नामक सेयर ब्रोकरसँग मिलेर अग्रिम भुक्तानी नगरी असीमित कारोबार सीमा लिँदै कारोबार गर्दै आएको खुलेको हो । ब्रोकरले कारोबार सीमाका लागि अनिवार्य अग्रिम रकम नलिई मिति र ब्यालेन्स नै नभएको चेकलाई धरौटी मानेर सुविधा दिएको बोर्डको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल धितोपत्र बोर्डका तत्कालीन सञ्चालक निलबहादुर सारु मगरको एकाघर परिवारको लगानी रहेको उक्त ब्रोकर कम्पनीबाट अग्रवालले मिति नभएको चेकको आधारमा असीमित कोल्याटरल प्रयोग गरेको देखिएको छ । निलबहादुर सारु मगरकी श्रीमती कविता लामा सारु मगरको लगानी रहेको हातेमालो फाइनान्सियल सर्भिसेसबाट अग्रवाललाई नियमविपरीत कारोबार सीमा प्रदान गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बोर्डका अनुसार, कम्पनी रजिष्ट्रारको अभिलेखअनुसार कविता लामा सारु मगर हातेमालो फाइनान्सियल सर्भिसेसकी दोस्रो ठूलो सेयरधनी हुन् । सीमित कार्य गर्ने धितोपत्र दलालको इजाजत पाएको उक्त कम्पनीमा उनको नाममा २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता सेयर रहेको देखिन्छ ।

यही ब्रोकरमार्फत अग्रवालको नियन्त्रणमा रहेकी उनकी दिदी ज्योति अग्रवाललाई मिति उल्लेख नभएको करिब साढे तीन अर्ब रुपैयाँ बराबरको चेक धरौटी राखी कारोबार सीमा उपलब्ध गराइएको पाइएको छ । बोर्डको अध्ययनले अग्रवालले ज्योति अग्रवालसहित १५ जनाको टीएमएस  आफैं सञ्चालन गरी ती खाताबीच मात्रै सेयर किनबेच गराउने, उच्च दरमा खरिद आदेश राखेर मूल्य बढाउने र वास्तविक स्वामित्व परिवर्तन नै नगरी झुटा तथा कृत्रिम कारोबार गर्ने गरेको देखाएको छ ।

बोर्डका अनुसार, अग्रवालले सामाजिक सञ्जालमा विभिन्न कम्पनीको सेयर मूल्य निश्चित तहसम्म पुग्ने दाबी गर्दै पोस्ट र भिडियो सार्वजनिक गर्ने, कारोबार समयमै लाखौँ कित्ताको खरिद आदेश देखाएर माग बढेजस्तो वातावरण बनाउने तर वास्तविक कारोबार भने नगर्ने गरेको पाइएको छ । यस्ता कृत्रिम अर्डर राख्नका लागि आवश्यक असीमित कारोबार सीमा हातेमालो फाइनान्सियल सर्भिसेसले नियमविपरीत उपलब्ध गराएको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ ।

धितोपत्र बोर्डले २०८१ फागुन २७ गते ज्योति अग्रवालको कारोबारसम्बन्धी विवरण माग गरी अध्ययन गर्दा, धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ अनुसार लिनुपर्ने २५ प्रतिशत अग्रिम रकम नलिई पाँचवटा ८०–८० करोडका चेकमार्फत ३ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार सीमा दिएको फेला परेको छ । ती चेक जारी भएको खातामा आवश्यक ब्यालेन्ससमेत नभएको देखिएकोले गलत नियतका साथ चेक धरौटी राखिएको बोर्डको ठहर छ ।

यस प्रकरणमा हातेमालो फाइनान्सियल सर्भिसेसले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार गर्नुपर्ने ग्राहक परिचय तथा वास्तविक कारोबारकर्ताको पहिचान नगरेकोसमेत पाइएको छ । त्यसका कारण कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य अस्वाभाविक रूपमा बढ्ने वातावरण बनेको भन्दै बोर्डले ब्रोकर कम्पनीलाई १० लाख रुपैयाँ जरिवाना गर्न सिफारिस गरेको छ ।

यस्तै, अग्रिम रकम नलिई कारोबार सीमा प्रदान गरी धितोपत्र कारोबार सञ्चालन विनियमावली उल्लङ्घन गरेको आधारमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम हदैसम्मको जरिवाना गर्नुपर्ने सिफारिस पनि बोर्डको प्रारम्भिक अध्ययन प्रतिवेदनले गरेको छ ।

बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले २०८१ फागुन ९ गते अग्रवालमाथि अनुसन्धान गर्न प्रारम्भिक जाँचबुझ अधिकृत तोकेका थिए । प्रतिवेदन तयार भएको लामो समयसम्म पनि थप अनुसन्धानका लागि प्रहरीमा नपठाइनुमा तत्कालीन सञ्चालक निलबहादुर सारु मगरको दबाब रहेको स्रोतको दाबी छ । पछि प्रश्न उठेपछि बोर्ड बैठकमै उनले आफ्नी श्रीमतीको नाममा रहेकोl सेयर बिक्री भइसकेको जानकारी गराएको बताइएको छ ।

बजारमा कृत्रिम माग सिर्जना, झुटा कारोबार, भ्रामक सूचना प्रवाह र नियामक पदाधिकारीसँग सम्बन्धित ब्रोकर कम्पनीको संलग्नताले पूँजी बजारको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ । अब यस प्रकरणमा अनुसन्धान कति निष्पक्ष र प्रभावकारी रूपमा अगाडि बढ्छ भन्ने विषयमा लगानीकर्ता र सरोकारवाला निकायको चासो केन्द्रित भएको छ ।

Please Login to comment in the post!

you may also like