काठमाडौं। सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सेवाशुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत भुक्तान गर्न आग्रह गरेको छ।
वैदेशिक रोजगार विभागले ठगीबाट जोगिन, आर्थिक कारोबारलाई पारदर्शी बनाउन तथा सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न नगद कारोबार नगर्न आग्रह गरेको हो। विभागका अनुसार इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीलाई कानुन बमोजिम बुझाउनुपर्ने सेवाशुल्क बैंकमार्फत भुक्तान गरी त्यसको प्रमाण कागज तथा अनलाइन कारोबार विवरण सुरक्षित राख्नुपर्नेछ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, “नगदमा कारोबार गर्दा ठगी भएमा प्रमाण जुटाउन कठिन हुने भएकाले कुनै पनि इजाजतपत्र प्राप्त संस्था, तिनका सञ्चालक, कर्मचारी वा प्रतिनिधिलाई नगदमा रकम नदिनु/नलिनु हुन अनुरोध छ।”
साथै विभागले म्यानपावर कम्पनीहरूलाई पनि नगद कारोबार नगर्न चेतावनी दिँदै नियम उल्लंघन गरे कारबाही गरिने जनाएको छ।