• Thursday, March 5, 2026

माओवादी केन्द्र र एकीकृत समाजवादीबाट असन्तुष्ट नेताहरू नयाँ वाम ध्रुवीकरणतर्फ तयारीमा छन्?


बिजनेस प्रेस राजनीतिक ब्यूरो-काठमाडौं -

माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीचको पार्टी एकता प्रक्रियाबाट असन्तुष्ट रहेका नेताहरू नयाँ वाम ध्रुवीकरणको तयारीमा जुटेका छन्। यी नेताहरूले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपालसँग समेत सहकार्य गर्ने सम्भावना रहेको स्रोतहरूले जनाएका छन्।

माओवादीका उपमहासचिव जनार्दन शर्मा, नेता राम कार्की र एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालबीच पछिल्लो समय नयाँ वाम केन्द्र निर्माणका विषयमा अनौपचारिक छलफल तीव्र बनेको छ। उक्त समूहमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि समावेश हुने संकेत देखिएको छ। यी नेताहरूले विप्लव नेतृत्वसँग पनि निरन्तर संवाद गरिरहेका छन्।भूसालले बिजनेस प्रेस सँग कुरा गर्दै भने, “हामीबीच अनौपचारिक कुराकानी भइरहेको छ, तर यसले कुन रूप लिन्छ भन्ने अहिले नै भन्न सकिँदैन। कम्युनिस्ट आन्दोलनलाई रुपान्तरणसहित नयाँ दिशामा लैजानुपर्ने आवश्यकता छ।”गत आइतबार माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ वाम घटकबीच एकताको घोषणा भएको थियो, जसलाई बुधबार हुने राष्ट्रिय भेलाले औपचारिकता दिने तयारी भइरहेको छ। तर एकताप्रति असन्तुष्टि राख्ने नेताहरू अन्तिम घडीसम्म पनि नेतृत्व परिवर्तनको मागमा अडिग रहे। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार जनार्दन शर्मा र सोमबार बिहान घनश्याम भूसाललाई भेटेर एकतामा जोड दिएका थिए, तर दुवैले “नेतृत्व परिवर्तन बिना एकता सम्भव छैन” भन्ने अडान लिएपछि वार्ता निष्कर्षविहीन बनेको हो।दाहालले दुवै नेताहरूलाई नयाँ पार्टीमै राजनीतिक भविष्य सुरक्षित हुने भन्दै मनाउन खोजे पनि उनीहरूले अस्वीकार गरेका थिए। भूसाल र शर्माले “यो तरिकाले न आन्दोलन अघि बढ्छ न जनताले पत्याउँछन्” भन्दै प्रचण्डसँगको सम्बन्ध अन्त्य भएको बताएका छन्। त्यसपछि यी नेताहरूले आ–आफ्नो समूहमा आन्तरिक छलफल गर्दै नयाँ मोर्चाबन्दीको तयारी अघि बढाएका छन्।विप्लव नेतृत्वको पार्टीका स्थायी समिति सदस्य भरत सीले पनि नयाँ कम्युनिस्ट केन्द्र निर्माणको आवश्यकता औंल्याउँदै भने, “व्यवहारिक रूपमा कम्युनिस्ट व्यवहार गर्ने, उत्पादनमा जोडिने र आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने हाम्रो संकल्प हो। अहिले त्यस्तो केन्द्र बन्ने वातावरण तयार हुँदैछ।”माओवादी केन्द्रले यसअघि पनि विप्लव नेतृत्वसँग एकताको प्रयास गरेको थियो, तर दाहालसँग सहमति बन्न सकेन। बरु उनले विप्लव पार्टीभित्रका केही नेताहरूलाई आफ्नो पक्षमा तान्ने प्रयास गरेका थिए। त्यस क्रममा चिरन पुन र कर्णजीत बुढाथोकीले अलग समूह बनाएर माओवादी केन्द्रसँग मिलेका थिए।यता विप्लव पनि अब चुनावी राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्। उनले आगामी फागुन २१ मा हुने चुनावका लागि दल दर्ता निवेदन दिएका छन्। यसले गर्दा संसदीय राजनीतिमा रहिसकेका भूसाल र शर्माहरूलाई विप्लवसँगको सहकार्यमा कुनै राजनीतिक असहजता छैन।

यसअघि पनि भूसाल र विप्लवबीच वैचारिक संवाद हुँदै आएको छ। गत वर्ष भूसाल कपिलवस्तुमा विप्लवले सञ्चालन गरेको ‘कम्युन’ अवलोकन गर्न पुगेका थिए। त्यसअघि काठमाडौं र बुटवलमा “वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन” शीर्षकमा भएका वैचारिक बहसहरूमा भूसाल, शर्मा र विप्लव निकट नेताहरू सहभागी थिए। यी कार्यक्रमहरू नयाँ वैचारिक ध्रुवीकरणको अभ्यासका रूपमा लिइएका थिए।तर, एकीकृत समाजवादीभित्र ठूलो फुट नहुँदा भूसाल समूहको योजना तत्काल मूर्तरूप लिन नसक्ने देखिएको छ। पार्टीभित्र असन्तुष्ट रामकुमारी झाँक्रीलगायतका नेताहरू एमालेतर्फ फर्कने सम्भावना बढेपछि भूसाल समूह कमजोर बनेको छ। माओवादीभित्र पनि जनार्दन शर्मालाई ठूलो संख्यामा साथ नपरेको र रुकुममा समेत उनको पकड घट्दै गएको बताइन्छ।

त्यसैगरी, प्रचण्डविरुद्ध असन्तुष्टि जनाउँदै माओवादी आन्दोलन पुनर्जीवित गर्ने दाबी गरे पनि जनार्दन शर्मा स्वयंले पहिले एमालेसँगको एकता प्रक्रियामा माओवाद परित्याग गर्ने निर्णयमा भूमिका खेलेका थिए। त्यसैले उनी अहिले नयाँ वैचारिक आधार खोज्दै भूसाल र विप्लवसँगको ध्रुवीकरणतर्फ उन्मुख देखिन्छन्।राजनीतिक विश्लेषकहरूका अनुसार, आगामी चुनावअघि यी असन्तुष्ट वाम नेताहरूबीचको सहकार्य वा मोर्चाबन्दीले नयाँ शक्ति समीकरण सिर्जना गर्न सक्छ। अहिले तीन धारमा विभाजित देखिएका माओवादी, समाजवादी र विप्लव समूहबीच व्यावहारिक एकता भएमा यो नयाँ वाम केन्द्रले चुनावी गठबन्धनसम्म विस्तार पाउन सक्ने अनुमान गरिएको छ।

Please Login to comment in the post!

you may also like