• Wednesday, August 6, 2025

"बेदना राई:-अभिनयबाट निर्देशनसम्मको सिर्जनात्मक यात्रा"


काठमाडौ। परशु प्रधानको चर्चित कथा ‘डल्ले खोला’ ले शिल्पी थिएटरको रंगमञ्चमा पुनर्जन्म लिएको छ। यसपटक शब्दहरू दृश्यमा बगेका छन्, संवेदना स्वर बनेर गुन्जिएका छन्।

समाजका तिक्त यथार्थलाई कल्पनाशीलतासाथ प्रस्तुत गर्ने लेखक प्रधानको कलमले कोरेको कथालाई रंगकर्मी बेदना राईले निर्देशनमा रूपान्तरण गर्दै मञ्चमा जीवन्त बनाएकी छन्। अभिनयमा पहिल्यैदेखि परिचित रहेकी बेदनाको यो द्रोस्रो निर्देशन हो। उनको प्रस्तुतिले यो प्रयासलाई नौसिखी नभई परिपक्वता बोकेको निर्देशक बनाएको छ।

छोटो कथा हुँदा हुँदै पनि नाटकमा कुनै कमी महसुस हुँदैन। हरेक संवाद, हरेक गति, कथाको संरचना र संवेदनासँग पूरक रूपमा मिसिएको छ। सौजन सेनेहाङको निर्माणमा तयार भएको यस नाटकमा उमेश सुनाम, अमित मगर, रञ्जना नेपाली, रचना मगर, रेजिना राई, सोहाङ राई थुलुङ, स्वर्णिम चाम्लिङ, ओसिन गुरुङ, पुष्पाञ्जली तिम्लिङ लिम्बू, रमिता राई, आकाश सुहाङ लिम्बू, अञ्जना थुलुङ राई, नुमा राई, प्रकृति थुलुङ राई, प्रिति चाम्लिङ राई, युगल श्रेष्ठ र सरोज खालिङ राईको अभिनय रहेको छ। कलाकारहरूको सामूहिक उपस्थितिले नाटकलाई ऊर्जा र गहिराइ दिएको छ।

‘डल्ले खोला’ असार १४ गतेसम्म शिल्पी थिएटर, बत्तीसपुतलीमा मञ्चन भइरहेको छ। मंगलबारबाहेक हरेक दिन साँझ ५:१५ बजे, शनिबार भने अतिरिक्त सो दिउँसो १ बजे पनि नाटक मञ्चन हुँदैछ।

कलाका पारखीहरूका लागि यो नाटक केवल मनोरञ्जन होइन, जीवन र समाजप्रतिको दृष्टिकोणलाई झस्काउने एउटा कलात्मक अनुभव हो।

Please Login to comment in the post!

you may also like