स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। नेतृत्व चयनका लागि भएको आन्तरिक छलफल तथा सहमतिपछि कोषाध्यक्ष पदबाहेक अन्य सबै पदाधिकारी र सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन्। संस्थाको विधानअनुसार मोहनकुमार डाँगी स्वतः अध्यक्ष चयन भएका छन्। संस्थाभित्र एकता कायम राख्ने उद्देश्यले गरिएको सहमतिपछि उत्तम भ्लोन लामा वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन्। उक्त पदका अर्का आकांक्षी बलराम खतिवडाले उम्मेदवारी फिर्ता लिएर लामालाई समर्थन गरेपछि सहमतिको वातावरण बनेको थियो।
उपाध्यक्ष पदमा पनि सर्वसम्मति कायम भएको छ। भरतबहादुर खत्री र भरतप्रसाद नेपालले आफ्नो दाबी फिर्ता लिएपछि उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य, हिमप्रसाद पाठक, नरेन्द्र बल्लभ पन्त र विक्रम विष्ट निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी महासचिवमा टीएन आचार्य र उपमहासचिवमा कविता पोखरेल सर्वसम्मत चयन भएका छन्। महासचिव पदका प्रत्याशी प्रकाशचन्द्र दुलालले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध चयन भएका हुन्।सचिव पदमा कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, सुमनकुमारी जोशी, ईशा श्रेष्ठ र विजयमोहन भट्टराई निर्विरोध चयन भएका छन्। साथै कार्यसमितिले कृष्णप्रसाद घिमिरे र दीपक पौडेललाई सचिव पदमा मनोनयन गर्ने निर्णय गरेको छ। अधिकांश पदमा सहमति जुटे पनि कोषाध्यक्ष पदका लागि भने निर्वाचन भएको थियो। उक्त पदमा शंकर बस्याल र मिथुन पौडेलबीच प्रतिस्पर्धा भएकोमा बस्याल २६७ मत प्राप्त गर्दै विजयी भए भने पौडेलले ८२ मत प्राप्त गरेका थिए।
कार्यसमिति सदस्यमा जगतबहादुर पोखरेल, अनुप आचार्य, कदम केसी, वर्णन लामिछाने, नारायण कँडेल, मिलन खड्का र जगदीश शिवाकोटी निर्विरोध निर्वाचित भएका छन्। इन्दिरा पन्त, सोमनाथ कँडेल र बाबुराम थापाले उम्मेदवारी फिर्ता लिएपछि सदस्य पदमा पनि सहमति जुटेको थियो। महिला सदस्यतर्फ ज्योति गैरे, प्रतिमा ज्ञवाली र संगिता धमला निर्विरोध निर्वाचित भएका छन्। साथै नयाँ प्रस्तावित विधानअनुसार सोमनाथ कँडेल, इन्दिरा पन्त र बाबुराम थापालाई कार्यसमिति सदस्यमा मनोनयन गरिएको छ। यससँगै इप्पानले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व टोली प्राप्त गरेको छ।