• Tuesday, March 3, 2026

फागुन २१ मै निर्वाचन, सरकार पूर्ण तयार : अर्थमन्त्री डा. खनाल


सिरहा। अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा हुने स्पष्ट पारेका छन्। लहानस्थित रामकुमार शारडा–उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा बोल्दै उनले सरकारले निर्वाचनको सम्पूर्ण वातावरण निर्माण गरिसकेको बताए।

उनले भने, “सरकारले निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा गरिसकेको छ। अफवाह र हल्लामा नपरी ढुक्क भएर लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन म आम नागरिकलाई आग्रह गर्छु।”

डा. खनालले वर्तमान सरकार जेनजी आन्दोलनपछि गठन भएको उल्लेख गर्दै यस सरकारको प्रमुख दायित्व निर्धारित मितिमा निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउनु रहेको बताए। निर्वाचनपछि मुलुकको अर्थतन्त्र क्रमशः स्थिर हुँदै जाने विश्वास समेत व्यक्त गरे।

कार्यक्रममा उनले अस्पतालको ४७ वर्षदेखि रोकिएको जग्गा दर्ता प्रक्रिया हालै सम्पन्न भएको जानकारी गराउँदै जेनजी आन्दोलनपछि बनेको सरकारले केवल ४७ दिनमै एक करोड २४ लाख रुपैयाँ लाभकर मिनाहा गर्दै दाता मुरारका र शारडा परिवारको दीर्घकालीन चाहना पूरा गरेको बताए।

दाता परिवारका तर्फबाट मुरारीलाल मुरारका र पवनकुमार शारडाले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको पहलका कारण दशकौँदेखि अल्झिएको समस्या समाधान भएको भन्दै वर्तमान सरकारप्रति धन्यवाद व्यक्त गरे।


Please Login to comment in the post!

you may also like