काठमाडौं — मन्त्री कुलमान घिसिङको सक्रिय पहल र समन्वयमा मेलम्ची खोलाको पानी काठमाडौं ल्याउन रोकावट गर्दै आएका स्थानीयले आन्दोलन फिर्ता लिएका छन्। मंगलबार राति मन्त्री घिसिङको उपस्थितिमा भएको छलफलपछि १५ बुँदे सहमति भएको हो।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको संयोजनमा भएको उक्त बैठकमा स्थानीय प्रतिनिधि, सम्बन्धित मन्त्रालयका सचिवहरू, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरू सहभागी थिए।राति करिब १० बजेसम्म चलेको छलफलपछि समझदारीपत्रमा हस्ताक्षर गर्दै स्थानीयले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन्। यससँगै मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरणमा परेको अवरोध औपचारिक रूपमा हटेको खानेपानी मन्त्रालयले जनाएको छ।
मन्त्री कुलमान घिसिङले विवाद समाधानमा सबै पक्षको सहकार्यलाई धन्यवाद ज्ञापन गर्दै अब मेलम्चीको पानी नियमित रूपमा काठमाडौंमा ल्याउनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।