काठमाडौ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्न लगभग सहमत हुने स्थिति पुगेका छन्। रास्वपाका सभापति रवि लामिछानेसँग गरिएका दुई चरणका विस्तृत वार्तापछि अब दुवै पक्ष एकै ठाउँमा उभिने कुरामा सहमत भएका छन्।
विश्वस्त स्रोतले बिज्नेसप्रेसलाई जानकारी गरेका अनुसार, अहिले सहमतिको अन्तिम खाका तैयार पार्न दुवै पक्षका नेता आन्तरिक रूपमा गृहकार्यमा लागि परेका छन्। प्रारम्भिक सहमतिअनुसार, बालेन रास्वपाको नीति, नेतृत्व संरचना, झण्डा तथा निर्वाचन चिन्ह ‘घण्टी’ स्वीकार गर्न तयार भएका छन्। साथै, रास्वपाले बालेनलाई आगामी निर्वाचनमा आफ्नो प्रधानमन्त्री उम्मेदवार रूपमा अघि सार्ने योजना बनाएको छ।
सहमति अनुसार, रवि लामिछाने रास्वपाका सभापति पदमा रहँदैछन् भने नयाँ गठबन्धनमा बालेन्द्र शाह प्रधानमन्त्री पदको दाबीकर्ता बन्ने रूपमा प्रस्तुत हुनेछन्। राजनैतिक समझदारीको प्रक्रियामा बालेनले कुनै सङ्गठनात्मक जिम्मेवारी नदिने सहमति जनाए तापनि, उनले जेनडर सन्तुलन तथा प्रतिनिधित्वका सम्बन्धमा चासो व्यक्त गर्दै आवश्यक समावेशन कसरी गरिने भन्ने विषयमा छलफल गरिरहेका छन्।
हालको रास्वपाको पदाधिकारी टिममा ठूलो परिवर्तन नहुने सहमति जनाइएको छ। एक स्रोतका अनुसार, “लगभग सबै महत्वपूर्ण विषयहरू टुंगो लागेको छ — नेता, नेतृत्व, पार्टी, झण्डा र चुनाव चिन्ह रास्वपाको रहनेछ; र सबैभन्दा पहिला बालेन प्रधानमन्त्री बन्नेमा सहमति भइसकेको छ।” साथै, “आजै साँझसम्म सहमतिमा औपचारिक रूपमा हस्ताक्षर हुने अपेक्षा छ।”