काठमाडौं। बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आगामी जेठ २९ गतेदेखि ‘डल्ले खोला’ शीर्षकको नाटक मञ्चन हुने भएको छ। एक थिएटर नेपालको प्रस्तुति रहेको यो नाटक रंगकर्मी वेदना राईको निर्देशन तथा परिकल्पनामा तयार भएको हो।
नाटक कथाकार परशु प्रधानको चर्चित कथा ‘डल्ले खोला’ मा आधारित छ, जुन कक्षा आठको नेपाली पाठ्यपुस्तकमा समेत समावेश गरिएको छ। कथामार्फत नदीको अस्तित्व, यसको स्मृति र राजनीतिमा यसको दोहनबारे गहिरो प्रश्न उठाइएको निर्देशक राई बताउँछिन्।“डल्ले खोला केवल पानी बग्ने नदी मात्र होइन, यो हाम्रो सामूहिक स्मृति र विवेकको प्रतीक हो,” राईको भनाइ छ, “नाटकमार्फत हामीले विकासको नाममा खोलामाथि भइरहेको विकृति र राजनीतिज्ञहरूको स्वार्थ उजागर गरेका छौँ।” सौजन सेनेहाङको निर्माण रहेको नाटकमा उमेश सुनाम, अमित मगर, रञ्जना नेपाली, रचना मगर, रेजिना राई, सोहाङ राई थुलुङ, स्वर्णिम चाम्लिङ, ओसिन गुरुङ, पुष्पाञ्जली तिम्लिङ लिम्बू, रमिता राई, आकाश सुहाङ लिम्बू, अञ्जना थुलुङ राई, नुमा राई, प्रकृति थुलुङ राई, प्रिति चाम्लिङ राई, युगल श्रेष्ठ र सरोज खालिङ राईको अभिनय रहनेछ।
नाटक असार १४ गतेसम्म मञ्चन हुनेछ। मंगलबारबाहेक प्रत्येक दिन साँझ ५:१५ बजे नाटक हेर्न सकिनेछ भने शनिबार १ बजे अतिरिक्त सो प्रदर्शन हुने बताइएको छ।