• Wednesday, March 4, 2026

बन्चरेडाँडा अवरोध हट्यो, फोहोर बोकेका गाडी ल्यान्डफिलतर्फ


काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न पाँच दिनदेखि जारी अवरोध आइतबार साँझदेखि हटेको छ। स्थानीय बासिन्दाले राखेका माग पूरा गर्ने लिखित प्रतिबद्धता सहरी विकासमन्त्री कुलमान घिसिङले दिएपछि सडक खुला गरिएको हो।

अवरोध हटेसँगै सडकमै अलपत्र परेका र उपत्यकाभित्र फोहोर लोड भएका सयौं गाडी ल्यान्डफिल साइटतर्फ लागेका छन्। काठमाडौंका विभिन्न स्थानमा थुप्रिएको फोहोर अब क्रमशः सफा हुने अपेक्षा गरिएको छ। मन्त्री घिसिङले स्वास्थ्य केन्द्र, खानेपानी, सडक कालोपत्रेलगायत स्थानीयका मुख्य माग सम्बोधन गर्ने समयतालिका सार्वजनिक गरेका छन्।

ल्यान्डफिल साइट वरपरका बासिन्दाले फोहोर व्यवस्थापनबाट उत्पन्न दुर्गन्ध, धुलो र स्वास्थ्य जोखिम न्यूनीकरण गर्नुपर्ने माग राख्दै आएका थिए। पाँच दिनको अवरोधले उपत्यकामा फोहोरको डंगुर लागेपछि सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो। अवरोध खुलेसँगै अब नियमित फोहोर विसर्जन सुचारु हुने काठमाडौं महानगरपालिकाले जनाएको छ।

Please Login to comment in the post!

you may also like