काठमाडौं । यस वर्षको तिहारमा प्रदर्शनमा आएका तीन नेपाली फिल्म — ‘वरिष्ठ बलराम’, ‘मैझारो’ र ‘सोल्टिनी’ — ले बक्स अफिसमा मिश्रित परिणाम दिएका छन्। चलचित्र विकास बोर्डका अनुसार कात्तिक २२ सम्मको विवरणमा ‘वरिष्ठ बलराम’ अग्रस्थानमा रहेको छ भने ‘सोल्टिनी’ले अपेक्षित व्यापार गर्न सकेन।
कात्तिक ६ गते रिलिज भएका ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’, तथा कात्तिक ७ गते प्रदर्शनमा आएको ‘मैझारो’ मध्ये ‘वरिष्ठ बलराम’ले सबैभन्दा बढी आम्दानी गरेको हो।
बोर्डका अनुसार ‘वरिष्ठ बलराम’ ले २२ कात्तिकसम्म रु. २ करोड ५६ लाख ५७ हजार २ सय २९ संकलन गरेको छ। सुरेन्द्र पौडेल निर्देशित यस फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, माओत्से गुरुङ लगायत कलाकारको अभिनय देख्न सकिन्छ।
त्यस्तै, हास्य कलाकार विल्सन विक्रम राईको निर्देशनमा बनेको ‘मैझारो’ ले रु. १ करोड ४ लाख २९ हजार २ सय ८८ कमाएको छ। प्रेमसम्बन्धमा आधारित यस फिल्ममा धीरज मगर, मिरुना मगर, दयाहाङ राई, दीया पुन, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन्।
उता, ‘सोल्टिनी’ ले भने मात्र रु. २९ लाख ५ हजार ९ सय ५६ कमाउन सफल भयो। अर्जुन सुवेदी निर्देशित यो फिल्ममा प्रकाश सपुत, परीक्षा लिम्बू, सुन्दर धिताल, सबु गुरुङ, रवीन्द्र झा लगायत कलाकारको अभिनय छ।
यद्यपि तीनै फिल्म तिहार लक्षित रूपमा प्रदर्शनमा आएका भए पनि, समग्र व्यापारको हिसाबले यो वर्षको पर्व नेपाली बक्स अफिसका लागि अपेक्षाकृत सुस्त रह्यो।