धनगढी: आज (मंगलबार) धनगढीस्थित सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कार्यकर्ता तथा समर्थकहरूले मुख्यमन्त्री कार्यालय घेराउ गरी प्रदर्शन गरिरहेका छन्।पार्टीका नेता रेशम चौधरीलगायतलाई रिहा गर्नुपर्ने, टीकापुर घटनाको मुद्दा फिर्ता लिनुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेर उनीहरूले प्रदर्शन गरिरहेका हुन्।प्रदर्शनकारीहरूले मुख्यमन्त्री कार्यालयको गेट तोडेर भित्र प्रवेश गरेपछि तनावको स्थिति सिर्जना भएको छ। उनीहरूलाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले प्रदर्शनकारीलाई रोक्ने प्रयास गर्दा केहीबेर झडपसमेत भएको थियो।प्रदर्शनमा महिला, युवा र नागरिक समाजका प्रतिनिधिहरूको पनि सहभागिता रहेको छ। उनीहरूले मुख्यमन्त्री कार्यालय घेराउ गर्दै चर्को नाराबाजी गरिरहेका छन्।