• Tuesday, March 3, 2026

थामसेर्कुको खण्डन : ३० आना जग्गाको लिज ६ अर्ब होइन, २१ करोड मात्रै


थामसेर्कु ट्रेकिङ प्रालिले दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा लिज प्रकरणलाई लिएर अनावश्यक विवाद र भ्रम सिर्जना गरिएको भन्दै विस्तृत स्पष्टीकरण जारी गरेको छ। कम्पनीका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले २०७४ सालमा प्रतिस्पर्धात्मक प्रक्रियाबाट ३० वर्षका लागि लिजमा लिएको जग्गामा निर्माण भएको भवन, लिज रकम, अवधि र क्षेत्रफलका बारेमा भ्रम फैलाइएको बताएका छन्।

उनले हालसम्म नेपाल ट्रष्टको कार्यालयलाई लिजबापत २१ करोडभन्दा बढी रकम भुक्तानी गरिसकिएको जानकारी दिएका छन्। कम्पनीले कित्ता नम्बर ४६०६ मा मात्रै भवन निर्माण गरेको र कित्ता नम्बर ४६०५ मा कुनै संरचना नबनाई साबिककै बाटोको रूपमा कायम रहेको स्पष्ट पारेको छ।

लिज रकम ६ अर्ब रुपैयाँ भएको भनी गरिएको प्रचारमा कुनै सत्यता नरहेको र महालेखा परीक्षकले औँल्याएको भनिएको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धान गरी निरूपण भइसकेको तथा उच्च अदालत पाटनबाट पनि टुंगो लागिसकेको वक्तव्यमा उल्लेख छ।

वक्तव्यमा भनिएको छ— ‘६ अर्ब रुपैयाँमा आजको मितिसम्म दरबारमार्ग क्षेत्रमा ३० आना जग्गा खरिद गर्न सकिने अवस्थामा ३० आना जग्गा प्रयोगबापत मात्रै ६ अर्ब तिर्न कोही तयार होला ? यस आधारमा हिसाब गर्दा जग्गाको मात्रै भाडा प्रति वर्ग फिट प्रति महिना १५ सयभन्दा बढी पर्न आउँछ। के यो आजको बजार भाडादर हो ?’

कम्पनीले पछिल्ला गतिविधिले कानुनी राज्यको उपहास गरेको र राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने निजी क्षेत्रलाई निरुत्साहित तथा अपमानित गरेको आरोप लगाएको छ। यसअघि सोही प्रकरणमा अनियमितताको आशंकामा सीआईबीले तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको थियो।


Please Login to comment in the post!

you may also like