काठमाडौं, असोज ३, २०८२ – नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य वर्षमान पुन 'अनन्त'ले जेन–जी आन्दोलनको भावना र बलिदानलाई सार्थक बनाउने गरी आफ्नो पार्टी निर्वाचनमा होमिने बताएका छन्। पार्टी निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शनिबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकलाई जेन–जी आन्दोलनको चाहनाअनुसार चलाउनुपर्ने जोड दिए।पुनले जेन–जी आन्दोलनकारीहरूले अघि सारेका सुशासनलगायत एजेन्डा आफ्नो दलको एजेन्डासँग मिल्दोजुल्दो भएको उल्लेख गर्दै भने, "जेन–जीलाई भर्चुअल र डिजिटल दुनियाँमा हुर्किंदै गरेका छोराछोरी र नातिनातिना भन्दा फरक रूपमा बुझ्नु हुँदैन। यो १३ देखि २८ वर्ष उमेरका नयाँ पुस्ता हो, जो स्मार्ट र क्षमतावान छन्। उनीहरूसँग विश्वभरका सूचना छन्।"उनले सहरी जीवनमा एउटै घरका बासिन्दाबीच पनि चिनजान नहुने अवस्थामा जेन–जी पुस्ता भर्चुअल माध्यमबाट विश्वभरका मानिसहरूसँग जोडिएको बताए। "उनीहरू गेम खेल्छन्, सूचना आदानप्रदान गर्छन् र नेपालमा बसेरै युरोप, अमेरिका, जापान, कोरिया, भारत र चीनसँग व्यापार गर्छन्। नेपालमै बसेर विदेशमा जागिर पनि गर्छन्," पुनले भने।जेन–जी आन्दोलनलाई मुलुकको वर्तमान यथार्थताका रूपमा चित्रण गर्दै पुनले यसको चाहनालाई सम्बोधन गरेर मात्र अगाडि बढ्न सकिने स्पष्ट पारे। उनले लोकतन्त्रलाई पारदर्शी र प्रभावकारी बनाउन जेन–जी समूहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताए। यद्यपि, बलिदानबाट प्राप्त संविधान मास्ने प्रवृत्ति सह्य नहुने चेतावनी दिए। "विगतमा हामीले क्रान्ति र मुलुक परिवर्तनका लागि जीवन हत्केलामा राखेर लड्यौं। मुलुकलाई पछि फर्काउने कोसिस भए फेरि लड्न तयार छौं," उनले भने।पुनले विश्वभर जेन–जी आन्दोलनका तरंगहरू रहेको उल्लेख गर्दै क्रान्तिकारीहरूले यसलाई उत्पीडितका आकांक्षासँग जोडेर लैजानुपर्ने बताए। उनले आफू र पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेन–जीका विभिन्न समूहसँग संवाद गरिरहेको पनि खुलाए।
२३ भदौको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाएर निहत्था विद्यार्थीहरूको हत्या गर्नेहरूमाथि कारबाही नगरी आफ्नो दलका नेता–कार्यकर्तालाई लक्षित गरी निरुत्साहित गर्न खोजिएको भन्दै पुनले आपत्ति जनाए। "सरकारलाई फेरि भन्न चाहन्छौं, आजको परिवर्तनलाई आत्मसात् गर्ने दल हामी मात्र हौं। हामी एजेन्डासहित जेन–जीका बलिदानलाई सार्थक बनाउने गरी निर्वाचनमा जान्छौं। तर, हामीलाई टार्गेट गर्ने काम रोकियोस्," उनले भने। "२३ गते दर्जनौंको हत्या गर्नेलाई केही नगर्ने? सत्तामा बसेर हालीमुहाली गर्ने बिचौलियाहरूलाई केही नगर्ने? अनि प्रचण्डतिर तेस्र्याउन खोज्ने? यस प्रकारका बेठीक प्रवृत्ति स्वीकार गर्दैनौं।"उनले प्रधानमन्त्री प्रचण्डले आफ्नै दलका नेता–कार्यकर्ता भ्रष्टाचारमा संलग्न पाइए अनुसन्धान गर्न निर्देशन दिएको स्मरण गर्दै भने, "भ्रष्टाचार, अनियमितता र राज्य दोहनमा हाम्रा सबै नेता–कार्यकर्ता परीक्षणमा उत्रिन तयार छन्। यो कुरा कुनै पार्टीले भनेको छैन। सत्तामा भएका साथीहरू पनि परीक्षित हुन्।"२४ भदौको विध्वंश र आगजनीमा संलग्नहरूमाथि छानबिन गरी कारबाही गर्नुपर्नेमा पुनले जोड दिए। "अघिल्लो दिन सुशासनको एजेन्डासहित भएको आन्दोलन राम्रो थियो। तर, २४ गते घुसपैठ गरेर तोडफोड र आगजनी गरियो। यसको छानबिन हुनुपर्छ र अपराधीहरूलाई दण्डित गर्नुपर्छ," उनले भने।प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर चुनावका लागि प्रतिबद्ध रहेको तर देशको स्वाधीनता र जनताको अधिकारमा कुनै सम्झौता नगर्ने बताएको पुनले उल्लेख गरे। "माओवादी शान्ति, प्रगति र अगाडि बढ्न चाहन्छ। तर, कसैसँग हेपिन चाहँदैन। हिजो दुनियाँभरका शक्तिसँग नडराएका हौं," उनले भने।फरक प्रसंगमा पुनले लोकतन्त्रको स्थायित्व र राष्ट्रिय स्वाधीनताका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए। यो कार्यक्रममा मजदुर संगठनका पदाधिकारीहरूको उपस्थिति थियो।