• Thursday, March 5, 2026

महानिर्देशक प्रदीप अधिकारी र निर्देशक मुरारी भण्डारीलाई शुक्रबारसम्म अख्तियारकै हिरासतमा राखिने


नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी र निर्देशक मुरारी भण्डारीसहित सात जनाविरुद्ध भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणमा भएको भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले बुधबार उनीहरूलाई पक्राउ गरी आरोपपत्रसहित अदालतमा उपस्थित गराएको थियो तर समय अभावले बिहीबार बयान र थुनछेक बहस हुन नसकेपछि अब शुक्रबार मात्रै यो प्रक्रिया अघि बढ्नेछ। महानिर्देशक अधिकारी र निर्देशक भण्डारीलाई शुक्रबारसम्म अख्तियारकै हिरासतमा राखिने भएको छ भने बाँकी पाँच प्रतिवादीको हकमा अदालतले म्याद थप गरी अनुसन्धान जारी राख्ने आदेश दिएको छ। यो मुद्दामा कुल १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बिगो दाबी गरिएको छ। अख्तियारको अनुसन्धानअनुसार जोखिमपूर्ण तथा प्राविधिक मापदण्डविपरीत ठाउँमा हेलिप्याड बनाई गुणस्तरहीन काम, लागत अनावश्यक बढाएर तथा नियमविपरीत भुक्तानी दिई भ्रष्टाचार भएको ठहर गरिएको छ। यो प्रकरणले क्यानको उच्च नेतृत्व तहसम्म भ्रष्टाचार संस्थागत रूपमा फैलिएको गम्भीर सङ्केत गरेको छ।

Please Login to comment in the post!

you may also like