काठमाडौँ। भारतीय प्रगतिशील नाटककार बादल सरकारको चर्चित नाटक ‘वल्लभपुरेर रूपकोथा’ को नेपाली परिवेशमा भावानुवाद गरिएको नाटक ‘बहादुरपुरको दन्त्यकथा’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। नाटकलाई विजय विस्फोटले नेपाली सन्दर्भमा पुनःसिर्जना गरेका हुन्।
नाटकको परिकल्पना तथा निर्देशन सरस्वती चौधरीले गरेकी छन्। रङ्गमञ्चका वरिष्ठ तथा लोकप्रिय कलाकारहरू—कमलमणी नेपाल, प्रवीण खतिवडा, सरिता गिरी, सरस्वती चौधरी, घनश्याम जोशी, राम भजन कामत, दिपल बराल, चन्द्र नेपाली र आदित्य नारायण मिश्र—ले नाटकका प्रमुख भूमिकाहरू जीवन्त बनाएका छन्।
व्यङ्ग्यात्मक हास्य शैलीमा तयार गरिएको यो नाटक ऋणमा डुबेका एक शाही वंशज ‘भूपति’ को कथामाथि आधारित छ। सामाजिक व्यङ्ग्य, मानवीय कमजोरियाँ र मनोरञ्जनात्मक प्रस्तुतीकरण यसको मुख्य आकर्षण मानिएको छ।
‘बहादुरपुरको दन्त्यकथा’ आगामी २०८२ साल पुष ४ गतेदेखि २७ गतेसम्म मण्डला थिएटर नेपाल, थापागाउँमा मञ्चन हुँदैछ। सोमबार बाहेक प्रत्येक दिन साँझ ५ बजे तथा शनिबार दिउँसो १ बजे पनि विशेष शो राखिएको निर्माण टोलीले जनाएको छ।
नाटकको टिमले दर्शकको मायाले आफूहरूलाई यहाँसम्म ल्याएको उल्लेख गर्दै नयाँ प्रस्तुति ‘बहादुरपुरको दन्त्यकथा’ ले पनि उत्तिकै साथ र माया पाउने अपेक्षा व्यक्त गरेको छ।