• Tuesday, March 3, 2026

‘लोकन्ती’ २०८२ मंसिर २६ देखि प्रदर्शन— परिवार, प्रेम र संघर्षको गहिरो कथामा आधारित नयाँ नेपाली फिल्म


काठमाडौं– कृसन फिल्म्सले निर्माण गरेको नयाँ नेपाली कथानक फिल्म ‘लोकन्ती’ आगामी २०८२ मंसिर २६ गते शुक्रवार देखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ। परिवार, संघर्ष, प्रेम, शान्ति र द्वन्द्वका विभिन्न आयामलाई समेटेर तयार गरिएको यो फिल्मलाई निर्माता–निर्देशक रञ्जित राना मगर ले ‘पूर्ण पारिवारिक ड्रामा’ को रूपमा प्रस्तुत गरेका छन्।

फिल्ममा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिनेछन्। काभ्रे जिल्लाका सुन्दर र प्राकृतिक लोकेशनमा गरिएको छायांकनसहित ‘लोकन्ती’ पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्न खोजिएको छ।

फिल्मका निर्माता सन्तोष न्यौपाने हुन्। एसराज गराचसँग अभिनेत्री तथा मोडल ऋचा थापा को अनस्क्रिन रोमान्स फिल्मको प्रमुख आकर्षण बनेको छ। साथै विमला लिम्बु, दमन रुपाखेती लगायत कलाकारहरूको भूमिका पनि फिल्ममा महत्वपूर्ण रहेको निर्माण पक्षले जनाएको छ। यसै फिल्ममार्फत कुमार न्यौपाने र विकाश अधिकारी ले फिल्मी करियरको सुरुवात गर्दैछन्।

संगीत निर्देशनमा विकास चौधरी रहेका छन् भने छायांकन रोनिश तामाङ च्याङ्बा ले गरेका छन्। अघिल्लो सातामा सार्वजनिक गरिएको फिल्मको पोस्टरले ड्रामा, कमेडी र इमोशनदेखि लिएर मनोरञ्जनका सबै पाटो समेटिएको स्पष्ट रूपमा संकेत गरेको छ। पोस्टरमा प्रयोग गरिएको कलात्मक डिजाइनले फिल्मले बोल्ने भावनात्मक गहिराइलाई प्रभावकारी ढंगले प्रस्तुत गरेको छ।

‘लोकन्ती’ ले नेपाली परिवारमा देखिने उतार–चढाव, प्रेम–घृणा, जीवनका संघर्ष र समय–समयमा देखापर्ने हास्य–व्यंग्यलाई कथाको मेरुदण्ड बनाएको छ। निर्माण टिमका अनुसार फिल्मले नेपाली समाजको वास्तविकता र पारिवारिक सम्बन्धको संवेदनशील पक्षलाई चित्रण गर्दै सबै उमेरका दर्शकलाई आकर्षित गर्ने उद्देश्य राखिएको छ।

फिल्मलाई देशभरका हलमा एकैसाथ रिलिज गर्ने तयारी पूरा भइसकेको छ। सार्वजनिक पोस्टरमार्फत दर्शकलाई–“नजिकको सिनेमा हलमा हेर्न नबिर्सनु होला”भन्दै निर्माण टिमले अपिलसमेत गरेको छ।

नेपाली संस्कृतिमा आधारित भावनात्मक र सामाजिक कथानक प्रस्तुत गर्ने ‘लोकन्ती’ ले नेपाली दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ। फिल्मको ट्रेलर चाँडै सार्वजनिक हुनेछ भन्ने जानकारी निर्माता पक्षले दिएको छ।

Please Login to comment in the post!

you may also like