• Tuesday, March 3, 2026

मौन अभिव्यक्तिको मञ्चमा ‘खमारी’ : शब्दबिनाको सजीव संवाद


काठमाडौ।  नाटकका रूप–फरक धेरै छन्— संवादप्रधान, प्रतीकात्मक, प्रयोगात्मक वा साङ्गीतिक। तर ती सबैमध्ये "मौन नाटक" (Silence Play) भने सधैं चुनौतीपूर्ण मानिन्छ। शब्दविहीन अभिनयमा भाव र कथालाई स्पष्टरूपमा व्यक्त गर्नु आफैंमा एक कठिन कला हो।

 नेपालको रंगमञ्चमा यस्ता मौन नाटकहरू निकै कम मञ्चन हुने गर्छन्। तर अहिले थापागाउँस्थित मण्डला थिएटरमा एक थिएटर नेपालको प्रस्तुतिमा रहेको "खमारी":मौन संवादले मौनताको गहिराइ र सौन्दर्य दुवै उजागर गरेको छ।

 ‘एक थिएटर नेपाल’को प्रस्तुतिमा बनेको यो नाटक, निर्देशक मणि के. राईको परिकल्पना र निर्देशनमा तयार भएको हो। नाटकले बिना शब्द, तर प्रबल भावना सहित प्रकृति र मानव सभ्यताबीचको अन्तर्सम्बन्धलाई, एक बालकको रूखप्रतिको प्रेम र संघर्ष प्रस्तुत गर्छ।

 गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका कारण रोकिएको ‘खमारी’ पुनः कात्तिक १३ देखि मञ्चन भैईरहेको छ। उक्त नाटक कात्तिक २० गते सम्म मञ्चन हुने छ। नाटकमा प्रिया लम्जेल, आरुशी राई, मुस्कान राउत, प्रेम चन्द पाण्डेय, युगल श्रेष्ठ, सोनिया राई, डिलेन्द्र राई, देविका राई, ममता साम्पाङ राई, शक्ति राई, रेनुका घर्ती मगर, रञ्जना नेपाली र सौजन सेनेहाङले अभिनय गरेका छन्।

 निर्देशक मणि के. राईको निर्देशकिय पक्ष हेर्ने हो भने, मौनतालाई माध्यम बनाएर कथा सुनाउने र दर्शकसम्म बुझाउन सक्ने उनको शैली नै यस नाटकको उत्कृष्ट पक्ष हो। शरीरको लय, भावको गहिराइ र दृश्यको सौन्दर्यमार्फत उनले मौनतालाई सशक्त भाषामा रूपान्तरण गरेका छन्।

 ‘खमारी’ हेर्दा लाग्छ,शब्द हराउँदा पनि कला बोलिरहन्छ। मौनता पनि अभिव्यक्तिको चरम रूप हुन सक्छ।

Please Login to comment in the post!

you may also like