काठमाडौँ, कात्तिक १९ गते । ११ औँ शताब्दीका कवि, योगी र बौद्ध साधक मिलारेपा को जीवनकथाबाट प्रेरित नाटक ‘मिलारेपा’ आजदेखि मण्डला थिएटरमा मञ्चन हुँदैछ। बौद्ध दर्शन र मानव आत्मबोधको गहिरो कथालाई नाट्यरूपमा प्रस्तुत गर्ने यस नाटकको परिकल्पना र निर्देशन बुद्धि तामाङ र उमेश तामाङले संयुक्त रूपमा गरेका हुन्।
लेखक चाङ ङ्योन हेरुकको प्रसिद्ध कृतिमा आधारित र रविन तामाङले नाट्य रूपान्तरण गरेको ‘मिलारेपा’ पाप, पश्चात्ताप र आत्मज्ञानतर्फको रूपान्तरणको गहिरो आध्यात्मिक यात्रा हो। निर्देशक तामाङका अनुसार, “यो नाटक केवल बौद्ध धर्मको व्याख्या होइन, सबैका लागि आत्मबोध र सत्यको खोजतर्फ प्रेरित गर्ने माध्यम हो।”
रसुवाको केरुङनजिक जन्मिएका मिलारेपाले गोरखा, सिन्धुपाल्चोक, मनाङ र मुस्ताङमा लामो समय ध्यान–तपस्या गरेको इतिहास रहेको छ। यही आध्यात्मिक यात्रालाई केन्द्रमा राखी तयार पारिएको नाटकमा २४ जना कलाकारको सहभागिता रहेको छ, जसमा तामाङ समुदायका साथै विभिन्न पृष्ठभूमिका कलाकारहरूको अभिनय देख्न सकिन्छ।
नाटकमा सङ्गीत आदित्य कटुवालले संयोजन गरेका छन् भने नृत्य संयोजन मनीषा गोले र मणि के राईले गरेका छन्। ‘मिलारेपा’ कात्तिक १८ गतेदेखि मङ्सिर २१ गतेसम्म प्रत्येक दिन (सोमबार बाहेक) साँझ ५:३० बजे र शनिबार दिउँसो १ बजे मण्डला थिएटर, अनामनगरमा मञ्चन हुनेछ। नाटकको कुल अवधि १ घण्टा ४५ मिनेट रहनेछ।