• Saturday, April 4, 2026

अपराधको कुनै पेसा हुँदैन': कलाकारिता क्षेत्रभित्रको विकृतिविरुद्ध लक्ष्मीको कडा प्रहार


काठमाडौँ । लोकप्रिय अभिनेत्री लक्ष्मी बर्देवाले कलाकारिता क्षेत्रभित्र हुने गलत कार्य र अपराधका विरुद्ध सबैले आवाज उठाउनुपर्ने बताएकी छन्। अभिनेता सागर लम्साल ‘बले’ विरुद्ध लागेको बलात्कारको गम्भीर आरोप सार्वजनिक भएपछि लक्ष्मीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो प्रतिक्रिया दिएकी हुन्।
आफ्नो पोस्टमा अभिनेत्री लक्ष्मीले अपराधलाई पेसा वा क्षेत्रसँग जोडेर हेर्न नहुने स्पष्ट पारेकी छन्। उनले लेखेकी छन्, ‘अपराधको कुनै पेसा वा क्षेत्र हुँदैन। देखेर नदेखे जस्तो र सुनेर नसुने जस्तो गर्ने स्थितिबाट माथि उठ्न सके मात्रै मेरो पेसा भनेर खुसी हुने दिन आउँछ।’
कलाकारिता जस्तो सम्मानित क्षेत्रभित्र हुने विकृति र अपराधलाई लुकाउनु नहुने तर्क गर्दै उनले थपिन्, ‘पीडितको सुरक्षा गर्दै पीडकलाई कानुनी दायरामा ल्याइनु पर्छ। यस विषयमा यथाशीघ्र छानबिन हुनेछ भन्नेमा म विश्वस्त छु।’
पछिल्लो समय कलाकारिता क्षेत्रभित्रका विभिन्न विवाद र आरोप-प्रत्यारोप बाहिर आइरहेका बेला लक्ष्मीको यो स्पष्ट र साहसी धारणालाई धेरैले सकारात्मक रूपमा लिएका छन्। पीडितले न्याय पाउनुपर्ने र दोषीले सजाय भोग्नुपर्ने कुरामा उनले जोड दिएकी छन्।

Please Login to comment in the post!

you may also like