• Thursday, March 5, 2026

अमेरिकी फिगर स्केटर म्याक्सिम नाउमोभ मिलान ओलम्पिकका लागि चयन


अमेरिकी फिगर स्केटर म्याक्सिम नाउमोभ आफ्ना दिवंगत आमाबुबाको सम्झनासहित आगामी मिलान शीतकालीन ओलम्पिकतर्फ अग्रसर भएका छन्। वाशिङ्टन डीसीमा गत वर्ष भएको एक व्यावसायिक विमान दुर्घटनामा उनका आमाबुबाको ज्यान गएको थियो।नाउमोभका लागि अमेरिकी ओलम्पिक टिममा छनोट हुनु केवल खेलकुद उपलब्धि मात्र होइन, भावनात्मक क्षण पनि हो। उनका आमाबुबासँग अन्तिमपटक कुरा गर्दा उनले ओलम्पिक टिममा पुग्ने सपना साझा गरेका थिए।

“हामीले गर्‍यौँ,” नाउमोभले भने, “यदि आज मेरा आमाबुबा यहाँ हुनुहुन्थ्यो भने उनीहरूले यही भन्नुहुन्थ्यो।”उनका आमाबुबा, भादिम नाउमोभ र येभगेनिया शिश्कोभा, सन् १९९४ का जोडी फिगर स्केटिङका विश्व च्याम्पियन थिए। उनीहरू जनवरी २०२५ मा अमेरिकन एयरलाइन्सको विमान वाशिङ्टन डीसीमा एक सैन्य हेलिकप्टरसँग आकाशमै ठोक्किँदा मृत्यु हुने ६७ जनामध्ये परेका थिए। उक्त दुर्घटनामा कोही पनि जीवित रहेनन्।रुसका लागि स्केटिङ खेलेका उनीहरू पछि अमेरिकामा बसाइँ सरेर बोस्टनको स्केटिङ क्लबमा प्रशिक्षकको रूपमा कार्यरत थिए। दुर्घटनाको समयमा उनीहरू कान्सासको विचिटाबाट फर्किँदै थिए, जहाँ २०२५ को अमेरिकी फिगर स्केटिङ च्याम्पियनसिप हुँदै थियो।शनिबार सेन्ट लुइसमा सम्पन्न अमेरिकी फिगर स्केटिङ च्याम्पियनसिपमा २४ वर्षीय नाउमोभ तेस्रो स्थानमा रहे। उनी इलिया मालिनिन र उपविजेता एन्ड्र्यु तोर्गाशेभपछि तेस्रो बनेका हुन्। यस नतिजासँगै उनी २०२६ को मिलान शीतकालीन ओलम्पिकमा अमेरिका प्रतिनिधित्व गर्ने १६ फिगर स्केटरमध्ये एक बनेका छन्।प्रतियोगिताका क्रममा नाउमोभले बाल्यकालमा आफ्ना आमाबुबासँग खिचिएको फोटो हातमा समातेका थिए।“मलाई तुरुन्तै उहाँहरूको सम्झना आयो,” उनले अमेरिकी फिगर स्केटिङलाई आइतबार भने, “उहाँहरू यहाँ भएर यो क्षण मेरो साथ अनुभव गर्न पाएको भए कति राम्रो हुन्थ्यो। तर म उहाँहरूको उपस्थितिलाई महसुस गर्छु—उहाँहरू सधैँ मेरो साथमै हुनुहुन्छ।”उक्त विमान दुर्घटनामा फिगर स्केटिङसँग सम्बन्धित २८ जना खेलाडी, प्रशिक्षक वा अभिभावकको ज्यान गएको थियो।मिलान शीतकालीन ओलम्पिकको फिगर स्केटिङ प्रतियोगिता आगामी फेब्रुअरी ६ देखि सुरु हुनेछ।

Please Login to comment in the post!

you may also like