काठमाडौँ । नयाँ बानेश्वर, थापागाउँस्थित ‘एक थिएटर नेपाल’मा नाटक ‘माण्डवी’ को मञ्चन सुरु भएको छ ।सद्भाव थिएटर नेपालको प्रस्तुतिमा राम के.एसी. को लेखन तथा निर्देशनमा तयार भएको नाटक, यही असोज १ देखि नियमित मञ्चन भएको हो ।
तीव्र गतिमा अघि बढिरहेको आधुनिक जीवनशैलीमा मानिसले गुमाउँदै गएको समय, सम्बन्ध र आत्मीयतालाई ‘माण्डवी’ले मञ्चमा प्रस्तुत गरेको छ । प्रविधि, करियर, पैसा र सम्पत्तिको दौडमा आफैँ र आफ्ना सम्बन्धबाट टाढिँदै गएको मानवीय अवस्थालाई नाटकमा प्रस्तुत गरिएको छ ।समकालीन नेपाली समाजका अन्तर्विरोध, मोह, स्वतन्त्रता र आत्मपहिचानका प्रश्नलाई समेटिएको नाटकमा कलाकारहरू निलीमा पाण्डे, एवन राज उप्रेती, सन्तोष बिष्ट, रुषा श्रेष्ठ, संस्कृति वन, तीर्सना राई, भिष्मराज जोशी र किरण चापागाईंलगायत कलाकारको अभिनय रहेको छ ।
नाटक असोज १५ गतेसम्म मंगलबारबाहेक हरेक साँझ ५ः३० बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो हुँदैछ ।