काठमाडौ। तेह्रथुमको लालिगुराँस नगरपालिका–७, लसुनेमा जन्मिएका सौजन सेनेहाङले नाटकको यात्रा २०७५ सालबाट सुरु गरेका हुन्। ‘नाटक म पनि’ बाट थिएटरको ढोका खोलेका उनले सुरुका दिनमा मञ्चमा उभिँदा डर, उत्साह र नयाँपन सबै मिसिएको अनुभव गरे। तर समय सँगै त्यो डर आत्मविश्वासमा बदलियो। आज सात वर्षको छोटो तर गहिरो यात्रामा थिएटर उनको जीवनको अभिन्न अङ्ग बनिसकेको छ।
“मञ्चले मलाई अनुशासन, धैर्य, अभिव्यक्ति, सामूहिकता र मानवीय भावनाको गहिराइ बुझ्न सिकायो,” सौजन भन्छन्, “प्रत्येक अभ्यास, प्रत्येक मञ्चन र प्रत्येक दर्शकबाट केही नयाँ सिक्दै आफूलाई परिष्कृत गर्दै यात्रा अघि बढिरहेको छ। यो निरन्तर प्रयास र सिकाइले भरिएको आशावादी यात्रा हो।”
अहिले उनी ‘खमारी’ नाटक मञ्चन अहिलेको समयको प्रसिद्ध नाटक हो। सौजनलाई निरन्तर रुपमा नाट्य यात्रामा सहभागी हुने योजना छ, जहाँ नयाँ ठाउँ र नयाँ दर्शक माझ प्रदर्शन हुनेछ। त्यसपछि त उनको आफ्नै लेखनको नाटक मञ्चनमा आउने पक्का छ। अहिले त्यसका लागि लेखन र अनुसन्धानको काम तीव्र रूपमा भइरहेको छ।
लसुनेको माटोले दिएको संस्कार, कला र समुदायसँगको गहिरो सम्बन्धले नै सौजनलाई मञ्चमा कथा भन्ने हिम्मत दियो। उनी भन्छन्, “त्यही ठाउँले मलाई कथाहरू सुन्न, बुझ्न र प्रस्तुत गर्न सिकायो।”
सौजनको यात्रा केवल व्यक्तिगत सफलताको कथा होइन, यो एउटा युवाको मेहनत, लगन र निरन्तर सिकाइको प्रेरणादायी उदाहरण हो। लसुनेबाट सुरु भएको यो रङ्गयात्रा अब देशैभरि फैलिँदै छ। उनको लेखन र मञ्चनले नेपाली थिएटरमा नयाँ स्वाद र सन्देश बोकेर आउने निश्चित छ। सौजन सेनेहाङ– एउटा नाम, जसले मञ्चलाई मात्र होइन, दर्शकको मन पनि जित्दैछ।